पर्वतका ३२ वनमा आगलागी, २ सय हेक्टर बढी जलेर नष्ट
गर्मीयाम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् ।
लामो समय खडेरी पर्नु र हावाहुरी लगायतका कारण आगालागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । आगलागीका कारण बर्सेनि वन क्षेत्र मासिँदै जान थालेको छ भने जनधनको पनि उत्तिकै क्षति हुने गरेको छ ।
जिल्ला वन कार्यालय पर्वतको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यस वर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पर्वतमा बर्सेनि सयौँ हेक्टर जमिनमा आगलागी हुने गरेको बताइन्छ । आगलागीका कारण रुख बिरुवासँगै वन्यजन्तुको पनि नाश भइरहेको छ । वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार पर्वतमा मात्रै करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिंगर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।” जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको उनले बताए ।
पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरूको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुने बित्तिकै निभाउन जाने गरीएको बताए । पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकावाट प्रचार प्रसारलाई समेत तीब्रता दिएको जनाएको छ ।