धुलोले धुवाँले गाउँमा बिरामी बढ्दै
ताम्तीका १४५ विद्यार्थी भाइरल ज्वरोले ग्रस्त
जुम्ला : तातोपानी गाउँपालिका–७ ताम्तीस्थित जनजागृति विद्यालयका छात्र–छात्राहरू भाइरल ज्वरोले ग्रस्त भएका छन् । ताम्तीका करिब १ सय ४५ जना विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको छ । विद्यार्थी एकाएक विरामी पर्न थालेपछि जनस्वास्थ्य कार्यालयको टोली चैत ३१ गते ताम्ती पुगेको थियो । जनजागृती माविका करिब ४ सय विद्यार्थीमध्ये स्वास्थ्य जाँच गरिएका १ सय ४५ जनामा विद्यार्थीमा रुघाखोकी, र भाइरल ज्वरोको समस्या देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सुमईले बताए ।
उनले भने, “एकपछि अर्को गर्दै सबैमा ज्वरो फैलिएको देखिएको । कोरोना संक्रमणको पनि बढेकोले एकसाता विद्यालय बन्द गर्न सुझाव दिएका छौं ।” अहिले देशभर फैलिएको प्रदुषण, धुवाँ धुलोका कारण आँखा पोल्ने, भाइरल ज्वरो, रुघाखोकी, पेट दुख्ने समस्या बढी हुने भएकाले सचेत रहन आग्रह गरिएको सूचना अधिकारी तथा स्वास्थ्य निरीक्षक सुमइले जानकारी दिए ।
यता जनजागृती माविका प्रधानाध्यापक जनक रावतका अनुसार चैत अन्तिम साता परीक्षा दिने क्रममा कक्षा ९ का एक जना विद्यार्थी एकाएक विरामी भएका थिए । त्यसपछि क्रमशः १÷२ दिनमा अन्य विद्यार्थीहरू पनि टाउको दुख्ने, आँखा दुख्ने, ज्वरो आउने पेट दुख्ने समस्याबाट ग्रस्त भएको प्रअ रावतले बताए ।
उनले भने, “विद्यायलयका १९ जना छात्रछात्रालाई गम्भीर असर भएको थियो । तर, स्वास्थ्यको टोली जाँचगर्दा १ सय ४५ जनामा भाइरल ज्वरोको समस्या देखियो । अहिले परीक्षा पनि सकिएको र विद्यार्थी बिरामी पनि भएकोले विद्यालय एक सातासम्म बन्द गरेका छौं ।”
१९ जना विद्यार्थी क्रमश विरामी हुन थालेपछि विद्यालयबाट स्वास्थ्य जाँचका लागि सबै विद्यार्थीलाई स्वास्थ्य चौकी पठाइएको थियो । स्वास्थ्य चौकीमा जिल्लाबाट गएको टोलीले जाँच गर्दा करिब १ सय ४५ विद्यार्थीमा सामान्य भाइरल ज्वरोको समस्या देखिएको छ । चेकजाँच तथा औषधी उपचारपश्चात् अबस्था सामान्य भए पनि ताम्ती गाउँ त्रसित भएको ७ नम्बर वडाध्यक्ष मक्करबहादुर रावतले बताए ।
उनले थपे, “सुरुमा अज्ञात रोगले गाउँनै ग्रस्त हुने चिन्तामा थियौ । पछि रुघाखोकी तथा भाइरल ज्वरोको समस्या पृष्टि भयो । अहिले पानी नपरेर बढ्दै गएको धुलो धुवाँले गर्दा समस्या निम्तिएको हो ।”
एकसातापछि विद्यालय खोल्दा भाइरल ज्वरोले प्रभावित विद्यार्थीमा पूर्ण सुधार नआए विद्यालय प्रवेशमा रोक लगाइने भएको छ । गाउँनै त्रसित भएको अबस्थामा लापरबाहीभन्दा सजकता अपनाउन आवश्यक रहेको वडाध्यक्ष रावतको भनाइ छ ।
लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाल चौलागाईंले बताए । ताम्तीको अबस्थामा केही सुधार भए पनि छिमेकी गाउँहरूमा पनि यस्तै समस्या देखापर्न थालेको जानकारी आएको छ । उनले भने,“कोरोनाबाट त्रसित स्थानीय बायु प्रदुषणका कारण बढीरहेको भाइरल ज्वरोका कारण ताम्ती गाउँनै सशंकित भएको पाइएको छ ।
पानी नपरेर वातावरण प्रदूषण भएको र धुलो धुवाँले समस्या निम्त्याएकोले गर्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सचेत रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।