Logo

भत्ता लिन सदरमुकाम जानुपर्ने बाध्यता

????????????????????????????????????

गुल्मीमा सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम पुग्नुपर्ने बाध्यताले सास्ती पुगेको छ । चुनावमा घरघरमा भत्ता भनेर नारा लगाएका स्थानीय तहले अहिले भत्ता लिन स्थानीयलाई सदरमुकाम पठाएर सास्ती दिएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका–१ की जानुका महत एकल महिला हुन् । उनका २ छोरी छन् । छोरीको पढाइ खर्च तथा दैनिकीका लागि उनले एकल भत्ताबाट काम चलाइरहेकी छिन् । राज्यले खर्च दिए पनि अहिले सदरमुकाम आउँदा सास्ती पुगेको उनले बताइन् । “पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउँदा–जाँदा सास्ती भएको छ । उनले भनिन्, “केही रकम सदरमुकाममा नै खर्च हुने गरेको छ ।”
त्यस्तै इस्मा गाउँपालिका– १ कै रामकुमारी शारुले पनि भत्ताले सहज भएको तर सदरमुकाम आउनुपर्ने बाध्यताले सास्ती हुने गरेको प्रतिक्रिया दिइन् । उनले पाउने मासिक २ हजारले नुन, तेल, चामललगायतका दैनिक जीवनमा आवश्यक खाद्यान्न किन्ने उनी बताउँछिन् । अहिले सदरमुकाम आएर खर्च हुने गरेकोले अब असहज हुने उनको भनाइ छ । आगामी दिनमा भने बैकिंङ सेवा टोलटोलमै पु¥याउनुपर्ने उनीहरूको माग छ ।
गाउँपालिकाले बैंकबाट भत्ता वितरण गर्न सुरु गरेपछि वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुंगा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

नगद वितरण गर्दा अनियमितता
तत्कालीन अवस्थाका गाउँ विकास समिति अर्थात् हालका वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भएपछि सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । त्यसैलाई कार्यान्वयन गर्दै इस्मा गाउँपालिकाले दुई बैंकसँग सम्झौता गरी भत्ता वितरण गरिरहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिए ।
तर, अनियमितता भत्ता बुझ्ने नागरिकले नगर्ने भन्दै आलोचना भइरहेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका उपाध्यक्ष रेशम कुँवरले भत्ता लिन सदरमुकाम आउनपर्ने प्रक्रिया गलत भएको बताए । “नगद वितरण गर्दा अनियमितता पक्कै भत्ता बुझ्ने नागरिकबाट हुन्न ।” उपाध्यक्ष कुँवरले भने, “जनप्रतिनिधि र कर्मचारीको गलत नियतले स्थानीयलाई सास्ती दिन भएन ।”
इस्मा गाउँपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा भत्ता वितरण अनुगमन समिति संयोजक विमला खत्रीले अहिले असहज भएको गुनासो आए पनि जोखिम र अनियमितता रोक्न बंैकमार्फत वितरण थालिएको बताइन् । उनले चुनावी नारा भएकाले केही समय घरघरमै पुगेर वितरण गरिएको स्मरण गर्दै बैंकलाई पनि गाउँमै गएर वितरण गर्न आग्रह गरिएको बताइन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक, तम्घास, उदिनढुंगा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए । त्यसका साथै बैंकबाट भत्ता वितरण गर्दा आवश्यक रकम मात्र झिक्न सकिने र बैंकमा रहेको बाँकी रकमको ब्याज पनि प्राप्त हुने भएकोले लाभग्राहीलाई थप फाइदा हुने बताए । आगामी दिनमा बैंकले इस्मा गाउँपालिकाको टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्