तीन वर्षमा निर्यात दोब्बर पार्ने महासंघको योजना
निर्यात व्यवसायी महासंघले तीन वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने तीन वर्षे रणनीति सार्वजनिक गरेको छ । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँच वर्ष अर्थात सन् २०२५ को अन्त्यसम्ममा ७ अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो । महासंघले निर्यात वृद्धिका लागि २०२१÷०२३ सम्मको रणनीतिक योजना समेत तयार गरेको छ ।
महासंघले यो रणनीतिक योजना सफल बनाउन सरकारको सहयोगको अपेक्षा गरेको जनाएको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले लक्ष्य हासिल गर्न निजी क्षेत्र एक्लैले नसक्ने भन्दै नीतिगत तथा व्यवहारिक अप्ठेरोलाई सहज गर्न सरकारको सहयोग आवश्यक पर्ने व्यवसायीहरुले आफ्नो ठाउँबाट काम गर्ने बताएका छन् । निर्यात व्यवसायले नेपाली नागरिकको सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने विश्वासका साथ रणनीति तयार गरिएको उनले बताए । निर्यातलाई नेपाली अर्थतन्त्रको एक मुख्य स्तम्भको रुपमा विकास गर्न लागि परेका व्यवसायीहरुको तीन वर्षे रणनीति तयार गरेको महासंघले जनाएको छ ।
स्थानीय स्रोतको उपयोग गर्ने, सम्भाव्य मूल्य श्रृंखला निर्माण गर्ने, मूल्य अभिवृद्धिको श्रृंखला खडा गरी उत्पादन तथा सेवाहरु विश्व बजारमा बेच्ने क्षमतामा नेपालको समृद्धि निर्भर रहेको महासंघका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । “यसका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राम्रो मूल्य पाउन सक्ने खालका नेपाली वस्तु तथा सेवाको सघन पाइपलाइन निर्माण गर्ने लक्ष्य महासंघले लिएको छ”उनले भने, “नेपाली निर्यातलाई स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाइराख्न तिनका लागि आवश्यक वातावरण निर्माण गर्ने तथा विना हस्तक्षेप अगाडि बढ्ने अवसर सिर्जना गर्ने रणनीतिक योजना छ ।”
महासंघ र निर्यातको कार्यसूचीलाई आर्थिक बहस एवं नीति निर्माणको केन्द्रमा राख्ने गरी वृहत सञ्चार रणनीति बनाउने र त्यसको कार्यान्वयन गर्ने योजनामा उल्लेख छ । आगामी तीन वर्षसम्म रणनीतिक योजना सञ्चालनमा महासंघले संस्थागतरुपमा प्रभावकारी हुन तथा आफ्ना सदस्य तथा साझेदारलाई निरन्तर अभिमुखीकरण गर्नका ज्ञानमा आधारित संस्था हुनु जरुरी रहेको जनाएको छ । माग तथा बजार पक्षका सम्बन्धमा महासंघले सरकार, विकास साझेदार, आपूर्तिकर्ता, उद्यम तथा अन्य निकायहरुसँगको साझेदारीमा कार्य गर्ने रणनीतिमा उल्लेख छ । महासंघले एकात्मकरुपमा काम गर्ने तथा माग मात्रै राख्ने जस्ता काम नगर्ने जनाएको छ । “महासंघले कुनै वस्तु वा उत्पादनको पक्ष लिने छैन, नेपालबाट निर्यात अभिवृद्धि गर्नका लागि कार्य गर्नेछ, यो सामुहिक लक्ष्य हो र यसले निर्यातको चाहना राख्ने हरेक व्यवसायीलाई लाभ पु¥याउनेछ” रणनीतिक योजनामा भनिएको छ ।
रणनीतिको कार्यान्वयनका क्रममो उत्कृष्ट सोच भएका युवाहरुसँग कार्य गर्ने महासंघले जनाएको छ । आधुनिक प्रविधिको उपयोग गरी सम्भावित सबैभन्दा द्रुत मार्गको अबलम्बन गर्ने र सिर्जनशीलतालाई प्राथमिकता दिनुका साथै निर्यातको सम्भावना भएका उत्पादन तथा सेवाहरुको नयाँ सूचीको बारेमा महासंघले खोज तथा अनुसन्धान गर्ने रणनीतिमा उल्लेख छ । नयाँ उद्यमहरु र खासगरी साना तथा मझौला उद्योगहरुका लागि निर्यातको प्रक्रियामा विगतका अनुभव तथा सिकेका कुराले सहयोग गर्ने योजना महासंघको छ ।