१४ सय हेक्टर वनमा डढेलो «

१४ सय हेक्टर वनमा डढेलो

म्याग्दीमा एक हजार ४ सय हेक्टर क्षेत्रफलको वनमा आगलागी भएको छ । लामो समयसम्म पानी नपरेपछि निम्तिएको खडेरीसँगै ५५ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।
सामुदायिक वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत सन्तोष खनालले बताए । उनका अनुसार, जिल्लामा रहेको १ लाख हेक्टर वनमध्ये १ हजार चार सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । ३ सय १२ सामुदायिक वनमध्ये ५५ वटा वनमा डढेलोले नष्ट गरेको छ । धार्मिक वन र कबुलियती वनमा र राष्ट्रिय वनमा आगलागीको तथ्यांक नआएको बताए ।
यस आर्थिक वर्षको कात्तिकदेखि चैत मसान्तसम्म आगलागी सो क्षति भएको हो । पछिल्लो समय सामुदायिक वनमा आगलागीले मानवीय क्षति नभए पनि जडिबुटी, वन्यजन्तुको बासस्थान मासिएको डिभिजन वन अधिकृत खनालले बताए । डढेलोले धँुवा र खडेरीका कारण धुलोले तुवाँलो बढेर मानवीय स्वास्थ्यमा असर गरेको छ ।
राम्रो घाँस पलाउने गलत बुझाइका कारण गोठालाले वनमा डढेलो लगाउने गर्छन् । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले पनि वनमा आगो लगाउने गरेको कार्यालयले जनाएको छ । डढेलोका कारण वन्यजन्तु र पक्षीको बासस्थान नष्ट भएको छ । कतिपय वन्यजन्तु र पक्षीले डढेलोमा ज्यान गुमाएका छन् । जडिबुटी र स–साना बिरुवा आगोले जलेर नष्ट भएको छ ।
जिल्लामा करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको खनालको भनाइ छ । आगलागी नियन्त्रणमा सूचनाअनुसार कर्मचारी, सुरक्षाकर्मी र उपभोक्ता समिति खटिएका छौं । पछिल्लो समय डढेलो नियन्त्रणमा स्थानीयले कम चासो देखाएका छन् । डढेलो लगाउनेलाई ३ वर्षसम्म कैद सजाय र ६० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्