म्याग्दीमा १८ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा
म्याग्दीबाट बग्ने कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र सहायक विभिन्न नदीमा १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनामा ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ ।
कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि दर्जनभन्दा जलविद्युत् आयोजनाले काम गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नेपाल विद्युत् प्राधिकरणबाट उत्पादन भइरहेको दुई मेगावाट क्षमताको तातोपानी साना र घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना परिक्षणको अन्तिम चरणमा छ ।
निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटका निलगिरि २, हाइड्रो सर्पोट प्रालिले दानामा ५३.५ मेगावाटको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रुपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको योजनामा छन् ।
धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले अपर ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गर्ने योजना सडक पहँुच विस्तारमा लागेको छ । रघुगंगा नदीका निर्माणाधीन चार जलविद्युत् निर्माणाधीन छन् । ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१. ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३.५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् । जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ ।
पाँच वटा जलविद्युत् आयोजना निर्माणको चरणमा
धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाबाट करिब १५० मेगावाट क्षमतासहित ५ वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि निर्माणको चरणमा प्रवेश गरेका छन् । चिमखोलाको बगरखोलामा ५.५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोपावर लिमिटेडले विद्युत् खरिद बिक्री सम्झौताको चरणमा पु¥याएको छ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदीमा २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५. ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माणकार्य सुरु गरेका छन भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्को समेत ठेक्का लगाएर निर्माणकार्य प्रारम्भ गर्ने तयारी गरिएको छ ।
रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । रघुगंगा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
रघुगंगा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । वडा नम्बर ४ दग्नाम र वडा नम्बर ५ को सीमा क्षेत्र बुग्लमा बाँध रहने यस आयोजनाको वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत्गृह रहने गरी निर्माण कार्यलाई अघि बढाइएको छ । राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तीव्रता पाएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ६०० मिटर बढी मुख्य सुरुङ खनिसकिएको छ ।
रघुगंगाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण सुरु भएसँंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्यमार्फत सडक पहँुच आयोजनासम्म पु¥याएको छ । निरन्तर बगिराख्ने नदीमा आयोजना सञ्चालन सुखद हो तर आयोजना निर्माण कम्पनीले ढिलासुस्ती गरेर स्रोत ओगट्नेमात्र काम भएको हुँदा सरोकारवालाले निगरानीतर्फ ध्यान दिन स्थानीयको माग छ ।