सात करोड ५० लाख मुआब्जा वितरण «

सात करोड ५० लाख मुआब्जा वितरण

तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको सात करोड ५० लाख मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।
आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । औषतमा प्रतिरोपनी सात लाख मूल्यांकन भएको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले जानकारी दिए । दोलखा जिल्लामा मात्र करिब १५ करोड मुआब्जा वितरण गर्नु पर्नेमा आधा जति वितरण भइसकेको बताए । आयोजनाले चैत लागेपछि मात्र मुआब्जा वितरण सुरु गरेको हो ।
तामाकोसी नदी र आसपासको विद्युत् काठमाडौंसम्म पु¥याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको फुलासीदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले पाएको छ । कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको आयोजना प्रमुख रमणराज शर्माले जानकारी दिए ।
आयोजना र प्रसारण लाइनको जिम्मा पाएको कम्पनी केईसीले संयुक्त रूपमा सर्भे र डिजाइनपछि टावरको काम गरिरहेको छ । इन्जिनियर यादवका अनुसार पहिलो प्याकेजको १६ वटा टावरको जग पूरा भएको छ भने ४० वटामा एकै साथ काम जारी छ । पहिलो प्याकेजको ११५ वटा टावरमध्ये दोलखामा ८५ वटा, सिन्धुपाल्चोकमा २७ र रामेछापमा ३ वटा पर्छ । सिन्धुपाल्चोकमा जग्गा प्रमाणीकरणको काम जारी छ । दोलखामा २ वटा टावर गुठीको जग्गामा परेकाले त्यसको निर्णयका लागि क्याबिनेट पठाउने तयारी छ । यसमध्ये दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ । वनमा टावर निर्माणका लागि एक हजार र तारमुनि पर्ने रुख ४ हजार काट्नु पर्ने देखिएको छ ।
कम्पनीले टावरको डिजाइन र उत्पादन गरेर स्टप्स र कन्डक्टरको ढुवानीसमेत गरिरहेको छ । सन् २०१९ मे २० मा भएको सम्झौताअनुसार ८१५ अर्थात् १२ अक्टोबर २०२१ मा पूरा गर्नुपर्छ । आयोजना नेपाल सरकार र एसियाली विकास बंैकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।
बाह्रबिसे–काठमाडौं (लप्सीफेदी) खण्डको ठेक्का भने लार्सन एण्ड टर्बो (एलएण्टी)ले पाएको छ । यो खण्डमा १२३ टावरमध्ये ८५ वटा पूरा भएको छ । ५६ वटा टावरसमेत उठाइएको आयोजना प्रमुख शर्माले बताए । यो ठेक्काको म्याद पूरा भएकाले एक वर्ष म्याद थप भई ३० मार्च २०२१ सम्म समय तोकिएको छ । यसको लागत सवा २ अर्ब रुपैयाँ रहेको छ ।
लप्सीफेदी–दुवाकोटमा भने १३२ केभीको सर्भेमात्र भएको छ । आयोजनाको लप्सीफेदीदेखि–चाँगुनारायणको ४ किमि १३२ केभीको डबल सर्किट र चाँगुनारायणदेखि दुवाकोटसम्मको १० किलोमिटरको मल्टि सर्किट लाइन निर्माण गर्ने लक्ष्य छ । भक्तपुर र काठमाडौंमा घनाबस्ती भएकाले जग्गा प्रमाणीकरण प्रक्रियामै छ । यो प्रसारणलाइन पूर्वको विद्युत् काठमाडौं उपत्याका ल्याउने महत्वपूर्ण लाइनको रूपमा विकास गर्न लागेको हो ।
सिन्धुपाल्चोको बाह्रबिसेमा २२०÷१३२ केभी सबस्टेसन निर्माण गर्नुपर्छ । प्राधिकरण र ठेकेदारबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भए पनि पूरा समयमा काम नभएपछि म्याद थप भएको हो । अहिले सबस्टेसनको जग्गा व्यवस्थापन, भवन निर्माणाधीन छन् । रामेछापको फुसालस्मा न्यू खिम्ती सबस्टेसन भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आफैंले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्