Logo

नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेको छ

भारतीय बजारमा नेपाली बिजुली

नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेको छ ।
भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो । यसअघि विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी सौदाबाजी (नेगोसेसन) का आधारमा भारतबाट बिजुली आयात गरिरहेकोमा अब भने भारतीय बजारबाट प्रतिष्पर्धाको आधारमा बिजुली आयात गर्न सक्नेछ । आगामी वर्षामा खेर जाने बिजुली भारतीय बजारमा बिजुली बेच्नका लागि प्रयास भइरहेको बेला भारतले आफ्नो बिजुली निर्यातका लागि खुला बजारमा पनि सहज पहुँच दिएको हो, यद्यपि निर्यातको बाटो भने अझै खुला भएको छैन । विद्युत् प्राधिकरणको तथ्यांकले भने अझै नेपाल भारतको बिजुलीमा निर्भर देखाउँछ, प्राधिकरणका अनुसार २७ हजार ८ सय ८२ मेगावाट आवर माग रहेकोमा भारतबाट १७ हजार ८ सय १९ मेगावाट आवर आयात भइरहेको छ । जुन कुल मागको ५० प्रतिशभन्दा बढी हो । सुख्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनका लागि भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिव ३० मेगावाट थप खरिदको प्रक्रिया भने अघि बढाइसकेको छ ।
भारतबाट नेपालले बिजुली किन्न सहज वातावरण बने पनि निर्यातका लागि भने अझै सहज छैन । प्राधिकरणका स्रोतका अनुसार, भारतीय बजारबाट आयात गर्न खुला पहुँच दिएपनि भारतीय बजारमा सहज बेच्नका लागि अझै छलफल भइरहेको छ । प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् वर्षाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिसके पनि स्वीकृति पाएको छैन । “भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेका थियौं, खरिदको स्वीकृति पाएको छौं भने बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएका छौं” प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भन्छन् । प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको उनको दाबी छ । “कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिष्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महत्व छ ।” उनी भन्छन् ।
प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत् खरिद गर्दै आएको छ । प्राधिकरणका अनुसार, अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिन्छ ।
विद्युत् प्राधिकरणले चालु वर्षको हिउँदमा आयात ५५० मेगावाटमा सीमित राख्ने योजना बनाएपछि ७ सय ८० मेगावाटसम्म पुगेको छ । विद्युत्को माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत् आयात गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको शाक्यको तर्क छ ।
प्राधिकरणका अनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युत् गृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत् गृहहरुबाट दुई सय मेगावाट विद्युत् उत्पादन भएको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ । प्रणालीमा विद्युत्को उच्चतम माग १४६३ मेगावाट र औसत माग ११५० मेगावाट पुगेको छ । यो माग पूर्ति गर्न प्राधिकरणका विद्युत् गृहहरुबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट दुई मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ ।
प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । भारतले हालको पीपीएको म्याद थप नगरेमा भने वर्षामा थोरै र हिउँदमा धेरै आयात गर्नुपर्ने हुन्छ, जुनको मूल्य भने महंगो पर्न जान्छ । इण्डीयन इनर्जी एक्सचेन्जको बिहीबारको मूल्य भने ३.४५ भारतीय रुपैयाँ अर्थात ५.५२ रुपैयाँ छ, नेपालले हाल आयत गरिएको बिजुलीभन्दा सस्तो हो । तर प्रत्येक दिन थपघट हुने हुनाले महंगो पर्ने सम्भावना रहने प्राधिकरणका अधिकारीहरु बताउँछन् । “निश्चित पीपीए दर रहेको भोटेकोसी र खिम्तीको डलर पीपीएले तर्सिएको प्राधिकरण दैनिक दरसँग प्रतिष्पर्धा गरेर बिजुली आयात गर्न कठिन छ” प्राधिकरणका एक अधिकारी भन्छन्, “लागतको हिसाबले ल्याउन र लैजान दुवै कठिन छ, निश्चित दरमा पीपीए भइरहेकोले यो प्रावधान परिवर्तन भए मात्र खुला बजारमा आदानप्रदानको सम्भावना छ ।” हाल नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ४.१८ भारतीय रुपैयाँ र अन्यबाट ६.६८ भारतीय रुपैयाँमा विद्युत् खरिद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्