फोहर किन्दै घोराही उपमहानगरपालिका «

फोहर किन्दै घोराही उपमहानगरपालिका

फोहर पनि खरिद ? त्यो पनि स्थानीय तहले ? अचम्म मान्नु पर्दैन दाङको घोराही उपमहानगरपालिकाले पहिलोपटक फोहर खरिद सुरु गरेको छ । नयाँ वर्षको आगमनसँगै नयाँ अभियान स्वरुप नगरले फोहर खरिद सुरु गरेको हो । नगरपालिकाले फोहर खरिद कार्य नयाँ बसपार्कबाट थालनी गरेको छ ।
फोहरलाई मोहर बनाउने अभियानअन्तर्गत फोहर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सूर्तिजन्य प्लास्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कार्पीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गरिने डाँगीले जानकारी दिए ।
खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइटमा रहेको बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहलाई उद्योगहरूसँंग समन्वय गरेर बिक्री गरिने घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । नगल्ने फोहर विशेषगरी प्लास्टिक र सिसाका वस्तुहरू उद्योगमा पठाइने छ । यसका लागि उद्योगसंँग सम्झौता गरिने र अहिले सम्झौताका लागि छलफल भइरहेको उनको भनाइ छ । “अहिले खरिद गरी संकलन गरेर एक स्थानमा राखिने छ त्यसपछि बिक्री गर्नेछौं,” प्रमुख प्रशासकीय अधिकृत केसीले भने । खरिद गरिएको फोहर राख्नका लागि समेत स्थान बनाइसकिएको उनको भनाइ छ ।
फोहर खरिदका लागि उपमहानगरपालिकाले चालू आव ०७७÷७८ मा ६ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो वर्षदेखि नै फोहर खरिद गर्ने योजना गरे पनि कोभिडका कारण गत वर्ष यस प्रकारको कार्यक्रम सुरु हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ । टोल टोलसम्म पुगेर फोहर खरिद गर्ने योजना रहेको संयोजक डाँगी बताउँछन् । “आफूले गरेको फोहर आफै व्यवस्थापनका लागि यस अभियानले सहयोग पु¥याउने छ,” उनले भने । उपमहानगरपालिकाले टोल टोलसम्म सचेतना फैलाउनका लागि तीनजना सरसफाइ स्वयंसेवक समेत परिचालन गर्ने भएको छ । उनीहरूले टोल टोलमा पुगेर फोहर उपमहानगरपालिकालाई बिक्री गर्नुस् भनेर आग्रह गर्नेछन् । फोहर नगरपालिकाले खरिद गरिदिने भएकाले अब नगरबासीले जताततै फोहर नफाल्ने नगरपालिकाको अपेक्षा छ । “फोहर पनि बिक्री गरेर पैसा आउने भएपछि जताजतै फोहर हुने छैन,” संयोजक डाँगीले भने, “सवारी साधनले गाडीबाट फोहर फाल्न नदिएर निश्चित स्थानमा फोहर जम्मा गरेर नगरपालिकालाई बिक्री गर्ने सक्नेछन् ।”
जताजतै फोहर नभएपछि वातावरणसमेत सुन्दर तथा सफा हुने र यसबाट पर्यटकीय क्षेत्रमा समेत सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । अब नाला, तथा सडकमा फोहर कम हुने तथा फोहर खेतबारीमा समेत नफालिने हुँदा उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ । “फोहर संकलनपछि फोहर जलाएर हुने वायु प्रदूषणसमेत कम हुन्छ भने नगरपालिकालाई फोहर व्यवस्थापमा सहयोग मिल्नुका साथै सरसफाइका लागि तिर्दै आएको शुल्क पनि घटने छ,” संयोजक डाँगीले भने ।

मूल्यसूची
प्लास्टिकको बोतलसहित नरम पोलिथिन प्रतिकिलो– १० रुपैयाँ
कपडा प्रतिकिलो– ५ रुपैयाँ
सूर्तिजन्य प्लास्टिक प्रतिकिलो–२ रुपैयाँ
गत्ता, कार्पीसहित वर्गीकरण अनुसारका २० रुपैयाँ

प्रतिक्रिया दिनुहोस्