Logo

अवैध काम रोक्न खोज्ने महानिर्देशक सरुवा

अवैध काम गर्ने मेनपावरलाई कारवाही गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरुवा भएका छन् ।
मेनपावर व्यवसायीको दबाब र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको दबाबमा उनको सरुवा भएको विभागका कर्मचारी बताउँछन् । महानिर्देशकको नेतृत्वमा एसओएस मेनपावरको अवैध कामविरुद्ध विभागले कारवाही गरेकोमा मन्त्री चौधरीले एकलौटी रुपमा रोक्का फुकुवा गरेका थिए । यसैगरी नेपाल रोजगार व्यवसायी संघका उपाध्यक्ष कमल तामाङले समेत सार्वजनिक रुपमै विभागले मेनपावरविरुद्ध कारवाही तीव्र बनाए महानिर्देशक दाहालको सरुवा गर्ने बताउँदै आएका थिए ।
एसओएस मेनपावरको कारवाही फिर्ता लिन र विभागले बढाएको कारवाही प्रक्रियाविरुद्ध व्यवसायीले सार्वजानिक रुपमा नै महानिर्देशकको सरुवा गर्न दिएको अभिव्यक्तिले व्यवसायी र मन्त्रीको दबाबमा दाहाललाई हटाइएको प्रष्ट देखिएको छ । विभागका पूर्व महानिर्देशक पूर्णचन्द्र भट्टराईले कर्मचारीको सरुवालाई सामान्य रुपमा लिनु पर्ने भएपनि विभागको अनुगमन गर्ने अधिकारलाई अर्को पक्षले हस्तक्षेप गर्नु नहुने र विभागले प्रक्रिया पु¥याएर अनुगमनको काम गर्नुपर्ने बताए ।
केही समय अघि वैदेशिक रोजगार व्यवसायीको नेतृत्वमा गएको व्यवसायीको समुहले विभिन्न माग राख्दै मेनपावरविरुद्ध कारवाही नगर्न ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार, व्यवसायीले एसओएस मेनपावर कम्पनीको कारवाही फिर्ता लिन महानिर्देशक दाहाललाई घुसको अफर गरेपनि महानिर्देशकले अस्वीकार गरेपछि व्यवसायी मन्त्रीसम्म पुगेर कारवाही फिर्ता लिन सफल भएका हुन् । यही कारण दाहालको सरुवा भएको मन्त्रालय सम्वद्ध स्रोतले जानकारी दियो ।
विभागका तत्कालीन महानिर्देशक दाहालले अवैध काम गर्ने मेनपावर, अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने संस्था र व्यक्तिलाई कारवाही नगर्न मन्त्रालय स्तरबाट दबाब आउने गरेको बताए । “मैले वैदेशिक रोजगार ऐन अनुसार लाखौं श्रमिकको हितका लागि अवैध काम गर्ने मेनपावर र अन्य संस्थामा अनुगमन बढाउँदै आएको थिएँ ।” तत्कालीन महानिर्देशक दाहालले कारोबारसँग भने, “वैदेशिक रोजगार विभागको कार्यक्षेत्रभित्र गर्ने कारवाही प्रक्रियालाई ओभर साइट गरेर काम गर्ने प्रवृत्ति देखिएको छ ।”
कुनै सरकारी निकायमा काम गर्ने कार्मचारी सरुवा गरिनु कर्मचारीतन्त्र भित्रको सामान्य प्रक्रिया भएपनि कानुन अनुसार कारवाही प्रक्रिया गर्ने गरेकै अवस्थामा आफू अनुकुल कर्मचारी ल्याउन गरिएको सरुवामा भने नियत देखिएको जानकारहरु बताउँछन् । मेनपावर विरुद्ध कारवाही अघि बढाउन महानिर्देशक दाहाललाई सहयोग गर्ने विभागका निर्देशक टिकामणी नेउपानेलाई एक वर्ष नपुग्दै वैदेशिक रोजगार बोर्ड काज सरुवा गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले विभागका महानिर्देशक सरुवा गर्ने अधिकार व्यवसायीको नभएको बताउँदै विभागको महानिर्देशक पदमा सामान्यता १ वर्ष भित्रै सरुवा हुने गरेको जिकिर गरे । विभागमा हालसम्म आएका २ दर्जन महानिर्देशकहरु मध्ये सबैभन्दा बढी समय बस्ने कार्यालय प्रमुख दाहाल नै रहेको उनले दावी गरे ।
व्यवसायीहरुले लामो समयदेखि फ्रि भिसा र फ्रि टिकटको अव्यवहारीक नियम खारेज गर्न श्रम मन्त्रालयलाई अनुरोध गर्दै आएपनि फाइल नै लुकाएर व्यवसायीलाई बेवास्ता गरेको महासचिव श्रेष्ठले आराप लगाए । सरकारले इजरायल, कोरिया र जापान जान १ लाख रुपैयाँ भन्दा बढी सेवा शुल्क लिन पाउने नियम बनाएपनि निजी क्षेत्रले भने १० हजार रुपैयाँमा पठाउनुपर्ने बाध्यकारी नियम बनाएर व्यवसायीलाई मर्कामा पारेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्