एक वर्षभित्र सातै प्रदेशमा ५० विद्युतीय चार्जिङ स्टेसन «

एक वर्षभित्र सातै प्रदेशमा ५० विद्युतीय चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले एक वर्षभित्र सातै प्रदेशका ५० स्थानमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि प्राधिकरणले एक वर्षभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो ।
इन्धन उपयोग गर्ने सवारी साधन लगायतको कारण प्रदूषण बढेको भन्दै चिन्ता बढिरहेको बेला विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्ने गरी वटा ५० चार्जिङ स्टेसन बन्न लागेका हुन् । यसबाट हाल एक प्रतिशतभन्दा कम रहेका विद्युतीय सवारी साधनको उपयोगमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्टेसन निर्माणका लागि प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड चीनबीच भएको ३७ करोड ७९ लाख ५५ हजारमा ठेक्का सम्झौता समेत भएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उनका अनुसार, हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएका चार्जिङ स्टेसनहरु मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुका साथै काठमाडौं उपत्यकामा ७ वटा राखिनेछन् । प्राधिकरणका अनुसार प्रदेश–१ मा झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । त्यसैगरी प्रदेश–२ मा पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर र जनकपुरधाम, महोत्तरीको बर्दिबास तथा सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । प्राधिकरणका अनुसार बागमती प्रदेशमा धादिङको मलेखु–२, विपी राजमार्गको सिन्धुली–२, मकवानपुरको हेटौंडा–२, चितवनको भरतपुर–२ तथा मुङलिन÷कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।
गण्डकी प्रदेशमा भने नवलपुर, तनहुँको दमौली र स्याङ्जामा १÷१ तथा कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।
लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसन स्थापना हुने प्राधिकरणले जनाएको छ । बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा १÷१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन स्थापना हुने प्राधिकरणले जनाएको छ ।
कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने प्राधिकरणले जनाएको छ । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १÷१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन स्थापना हुने प्राधिकरणले जनाएको छ ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने र यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्