‘प्राकृतिक विपत्ति भए पनि विकासको लक्ष्य हासिल हुन्छ’ «

‘प्राकृतिक विपत्ति भए पनि विकासको लक्ष्य हासिल हुन्छ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए । उनले नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन २०३० को अन्त्यसम्म दिगो विकासका लक्ष्य भेटउने दृढता व्यक्त गरे ।
नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि उनले बताए । नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए । नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिबी निवारण, प्राकृतिक विपत्ति न्यूनीकरणजस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्