Logo

भगवती कोत मन्दिरको पुनर्निर्माण सुरु

म्याग्दी (कास)-म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुनर्निर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनर्निर्माण सुरु गरेको हो ।
विभागबाट मन्दिर पुनर्निर्माणका लागि मिलीजुली किवेष्ट जेभीले भ्याटसहित ६९ लाख ३० हजार ५ सय ६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरी कार्यक्षेत्रमा काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजीब ढुंगेलले बताए ।
२०७२ सालको भूकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरिने भगवती कोत मन्दिर पूजा ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ले बताए । मन्दिरमा आधुनिक निर्माण सामग्रीको प्रयोग नगरिकन मौलिकतामै आधारित रहेर बनाउने योजना पुनर्निर्माण गर्न निर्माण कम्पनी आग्रह गरेका छौँ ।
मन्दिर पुनर्निर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरूमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दसैँको अवसरमा विशेष पूजा हुन्छ ।
धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्