पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन : मन्त्री रायमाझी «

पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन : मन्त्री रायमाझी

अर्घाखाँची– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ५ वर्षसम्म चलिरहने बताएका छन् । सरकारको समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिन नसकेको र फिर्ता लिए पनि वैकल्पिक माध्यमहरु भएकाले सरकार टिकिरहने उनले बताए ।
प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले सरकार ढलाउँछौं भन्ने सपना नदेख्न आग्रह गर्दै अन्य दलले सरकार बनाउन नसक्ने बताएका छन् । “अन्य सानाा दललाई समेटेर सरकार बनाउन पनि कठिन छ, सरकारको नेतृत्व कसले गर्ने भन्ने सम्बन्धमा पनि अलमल भएका कारण केपी ओली नेतृत्वको सरकार टिकिरहन्छ,” उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउने प्रयास भइरहेको मन्त्री रायमाझीले बताए । तीन दल मिल्दा पनि सरकार बनाउनका लागि सहमति नजुटेका कारण माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।
सरकारको नेतृत्व गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हैसियत नभएको र अन्य दललाई नेतृत्व गर्न समर्थन गर्दा पनि नपत्याएको उनले टिप्पणी गरेका छन् । संसद विघटन प्रक्रिया अंसवैधानिक, अलोतान्त्रिक भनेर व्यापक आन्दोलन भए पनि देश विधिअनुसार नै फेरि तत्काल निर्वाचनमा जान सक्ने स्थिति आउने बताएका छन्
माओवादी केन्द्र छोडेर एमालेमा लागेकोमा पछुतो नलागेको बताउँदै मन्त्री रायमाझीले विचार, राजनीति, विकास समृद्धि मुख्य विषय भएकाले देशको हितको पक्षमा लाग्दा फेरि पनि मन्त्री र सांसद बन्नलाई कुनै कठिनाई नपर्ने बताएका छन् ।
माओवादी केन्द्रले पार्टीको संसद पदबाट हटाएपछि पुनः ६ महिनाका लागी मन्त्री बनेका रायमाझीले भने, “पार्टीमा देखिएको अस्थिरताका कारण देशभर मध्यावधि निर्वाचन हुन पनि सक्छ । निर्वाचनमा प्रचण्ड, माधव नेपाल, कांग्रेस सबैलाई लैजान्छौँ, ओली नेतृत्वको सरकारले नै निर्वाचन गर्न सक्छ । मध्यावधि निर्वाचन नहुने देखिएमा रिक्त रहेका ठाउँमा जेठदेखि असोजसम्ममा उपनिर्वाचन हुन्छ ।”
अर्घाखाँचीमा प्रतिनिधिसभा पद रिक्त भई संसदविनै मन्त्री भएका रायमाझीले सरकारको मुख्य एजेण्डा विकास र समृद्धि भएको बताए । सरकारले यसवर्ष गौरबको आयोजनाको रुपमा नौमुरे जलविद्युत आयोजना र बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्