स्वास्थ्य पूर्वाधार निर्माणको वर्ष «

स्वास्थ्य पूर्वाधार निर्माणको वर्ष

Live medical screening with medical application on tablet

कोभिड–१९ महामारीका कारण स्वास्थ्य नै सर्वोपरी हो भन्ने विषय महत्वपूर्ण बन्न पुग्यो । २०७८ सालमा पनि स्वास्थ्य सबैभन्दा प्रमुख मुद्दा हुनेमा शंका छैन ।
गत वर्ष सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्ने अवसर पाएको हुनाले सरकारलाई यस्ता महामारीबाट कसरी जोगिने तथा यसको लागि पूर्व तयारीका लागि सिकाइ प्राप्त भएको छ । कोभिड १९ को चुनौती अझैँ बाँकी रहेपनि सरकारले यसलाई अवसरको रुपमा प्रयोग गरेर स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्ने अवसर पाएको छ । गएको वर्ष स्वास्थ्य पूर्वाधार निर्माणमा धेरै प्रगति भएकोले यसलाई स्वास्थ्य पूर्वाधार निर्माण वर्षको रुपमा समेत लिइएको छ ।
यो वर्ष कोरोना महामारी लगायत संक्रामक तथा अन्य रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवा, पूर्वाधार विकास, औषधि एवम् उपकरण र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार गर्न उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छ ।
देशको आर्थिक हैसियत अनुसार कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन सरकारले काम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो बिचमा थोरै भएपनि कोभिड बिरुद्धको खोप ल्याउने अभियानलाई शुरु गरेको छ । खोप सेवा विस्तार गर्ने दक्षिण एशियाली देशमा नेपाल अग्रस्थानमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । मन्त्रालयले शुरुमा कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको थियो । यो वर्ष कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । यसैगरी पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालको रूपमा गरिएको छ । सरकारले यो वर्ष स्वास्थ्य पूर्वाधार विकासका लागि मात्र १२ अर्ब ४६ करोड़ विनियोजन गरेकोमा सो सम्पुर्ण बजेट खर्च गर्ने गरी वितरण गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउन सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गरेको मन्त्रालयले जनाएको छ ।

धेरै बजेट कोरोना नियन्त्रणमा
सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा बिगत १० महिनामा १८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।
गत वर्षको चैतदेखी चालु आर्थिक वर्षको पुषसम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैया खर्च गरेको देखिएको हो । अर्थ मन्त्रालयका अनुसार सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड ९२ लाख र चालु आवमा ६ अर्ब २६ करोड ६ लाख रुपैया खर्च गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता डा.रामप्रसाद घिमिरेका अनुसार कारोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । “यो खर्च संघ, प्रदेश र स्थानीय तहबाट चालु आर्थिक वर्षमा भएको खर्च हो,” उनले भने, “यसैगरी आर्थिक वर्ष २०७६-२०७७ मा ३ वटै सरकारले ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।” यो खर्च सरकारी अनुदान र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको पैसा समेत खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्