Logo

मुगूम कार्मारोङलाई नमुना गाउँपालिका बनाउँछु

छिरिङ क्याप्ने लामा, अध्यक्ष, मुगूम कार्मारोङ गाउँपालिका, मुगु

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिने जिल्ला हो मुगु । यहाँ एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटा स्थानीय तहका सरकार छन् । यी चार स्थानीय तहमध्ये बढी पर्यटन क्षेत्र बोकेको, बहुमूल्य जडिबुटी यार्सागुम्बा, वन्यजन्तु, जंगली जनावर, पशुपन्छी, जलस्रोतको भण्डार मानिएको गाउँपालिका हो, मुगूम कार्मारोङ गाउँपालिका । यस गाउँपालिकाका अध्यक्ष हुन्– छिरिङ क्याप्ने लामा । यस गाउँपालिकामा जनजाति लामा समुदायको बाहुल्य छ । यहाँ पर्यटन क्षेत्रबाट गाउँपालिकालाई समृद्ध बनाई नमुना गाउँपालिका बनाउने गाउँपालिकाको उद्देश्य रहेको छ । गाउँपालिका अध्यक्ष भन्छन्, “अवश्य पनि नमुना गाउँपालिका बनाउँछु ।”
यस गाउँपालिकामा लामा, कामी, क्षेत्रीको बसोबास रहेको छ । २०६८ को जनगणनाअनुसार मुगूम कार्मारोङ गाउँपालिकाको जनसंख्या ५ हजार ३ सय ९६ रहेको छ । यसको क्षेत्रफल २ हजार १ सय ६ दशमलव ९१ वर्गकिलोमिटर छ । यो गाउँपालिका अन्य चारवटा स्थानीय तहमध्ये भौगोलिक हिसाबले ठूलो छ । यहाँ जडिबुटी, व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना छ । यस क्षेत्रका समुदायले नेपाली, अंग्रेजी र तिब्बतीयन भाषा प्रयोग गर्छन् ।
देशमा संघीयता लागू भएको तीन वर्षभन्दा बढी भइसक्यो । तीन सरकारमध्ये नजिकको सरकार हो, स्थानीय सरकार । नजिकको स्थानीय सरकारले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता, वाचा, कसम कति पूरा भएका छन् त ? यसै विषयमा मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामासँग कारोबारकर्मी दानबहादुर बुढाले गरेको कुराकानीको सार :

यहाँको तीन वर्षको कार्यकाल कस्तो रह्यो ?
यो स्थानीय सरकार सञ्चालन भएपश्चात् अहिले यो तीन वर्षको अवधिमा विकास–निर्माणलगायत गाउँपालिकाको व्यवस्थापनमा बित्यो । यो तीन वर्षमध्ये दुई वर्ष जनतासँग हातेमालो गर्दै विभाजित विकासे योजनाको काम गर्दै बित्यो । यति मात्र होइन, कर्णाली प्रदेश सरकार, जिल्ला, गाउँमा हुने कार्यक्रमहरूको गोष्ठीमा जाने भएकाले तलमाथि गर्दै एक वर्ष गयो । त्योभन्दा पनि छ–सात महिना लकडाउनमा गयो । विकासमा पनि उत्तिकै फड्को मारेन ।

गाउँमा सिंहदरबार आयो भन्छन्, कत्तिको प्रत्याभूत गरेका छन् त जनताले ?
साँच्चिकै गाउँमा सिंहदरबार आयो किन भन्नुहुन्छ भने मैले जनतामाझ गर्नुपर्ने काम गरेकै छु । जनताको पनि उही भनाइ छ, जुन मैले उद्देश्य बोकेको थिएँ, अहिले त्यही भएको छ । प्रत्येक वडामा उज्यालो गर्ने, खानेपानी नभएको ठाउँमा पानी पुग्यो । अहिले गाउँपालिकावासीले खानेपानी, विद्युत्का लागि चिन्ता नगरे हुन्छ ।

तपाईंको गाउँपालिकामा लकडाउनका बेला विकासमा कस्तो दुर्दशा लाग्यो ?
विश्व महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले हाम्रो गाउँपालिकामात्र नभई विश्वलाई नै दुर्दशामा पा-यो नि । यो लकडाउनको बेला जे गर्नुपर्ने काम थियो त्यो हुन सकेन । भर्खरै सम्पन्न भएको गाउँसभामा दर्जनौंभन्दा बढी योजना विनियोजित भएका थिए । ती योजना अपुरो भयो । अहिले विकासको बाधक भनेकै लकडाउन र कोभिड–१९ ले भयो । हाल ती योजनाहरू कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय भएका छैनन् । अब ती योजनालाई पुनर्निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । बाँकी रहेका योजनालाई छिट्टै सम्पन्न गरिहाल्छांै ।

जिल्लाका अन्य स्थानीय तहमध्ये कार्मारोङ गाउँपालिका भूगोलले पनि ठूलो छ, खास गाउँपालिकाको लक्ष्यचाहिँ केमा रहेको छ नि ?
एकदमै राम्रो प्रसंग उठाउनुभयो । मुगु जिल्लाका चार स्थानीय तहमध्ये कार्मारोङ गाउँपालिका भूगोलले मात्र ठूलो नभई यसले कृषि, पशुपालन, जडिबुटी, सांस्कृतिक रीतिरिवाज र पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यो गाउँपालिकाका स्थानीयको पहिलो रोजाइ भनेकै कृषि हो, यहाँ खेतीयोग्य जमिन पनि उत्तिकै रहेको छ । यतिमात्र नभई विश्वकै बहुमूल्य जडिबुटी यार्सागुम्बा यो गाउँपालिकामा रहेको छ । विश्वकै चार धाममध्ये छायानाथ धाम हाम्रै गाउँपालिकामा पर्छ । यस धाममा दर्शन गर्न कर्णाली जिल्लालगायत अन्य जिल्लाहरू बझाङ, बाजुरा र सुदूरपश्चिमका भक्तजन यस गाउँपालिका भई धाममा पुग्ने गर्छन् । यहाँ कोइकी हिमाल, कान्जीरोवा हिमाल, तालतैलया, बौद्ध गुम्बालगायत पर्यटकीय सम्भावना रहेका धेरै क्षेत्र छन् । यस गाउँपालिकामा आएका पर्यटकलाई मनोरञ्जन दिन हाम्रो लामा समुदायको परम्पराअनुसार नाच गर्ने, यहाँको धार्मिक, सांस्कृतिकलगायत आर्थिक उपजलाई माथि उकास्ने कुरामा ध्यान दिने गरेका छौं ।

योजना बाँडफाँडमा समान तरिकाले बाँडिन्छ कि राजनीतिक आस्थाका आधारमा विनियोजित हुन्छ नि ?
योजना बाँडफाँडमा, राजनीतिक आस्थाका आधारमा कहाँबाट बाँड्नु नि ? बाँडिदैन । तर, कुनै–कुनै स्थानीय तहमा त्यस्तो प्रवृत्ति रहेको हुँदा तपाईंले भन्नुभएको स्वाभाविकै हो । हाम्रो पालिकामा त्यस्तो छैन, विगतका दिनदेखि हालसम्म विकासका योजनाहरू समान ढंगले बाँडेका छौं ।
विकास योजनाको बाँडफाँडमा स्थानीयको पनि उत्तिकै उपस्थिति रहेको हुन्छ । किनभने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले योजना छनोट तथा वितरण गर्दा स्थानीयको आमभेलाबाट गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैअनुरूप हामीले पनि उही तरिकाले गरेका छौं ।

विकास छनोटमा स्थानीयवासी किन गाउँपालिका धाउनुपर्छ ?
विकास–निर्माणको छनोटमा जनता आउनुप-यो नि । गाउँस्तरमा योजना छनोट गर्नुपूर्व गाउँमा के समस्या छ ? त्यो त जनताबाट आउने माध्यम हो नि । उहीअनुसार हामीले विकास बाँडफाँड गर्ने हो । कुन गाउँमा के छ, हामीलाई थाहा हँुदैन नि । त्यसैले जनता आउनु एकदमै महŒवपूर्ण कुरा छ । जनताबिना कुनै पनि विकास सम्भव छैन । जनताले जे चाहन्छन् त्यही हामीले सकी–नसकी पु¥याउनुपर्छ । अहिले यो गाउँपालिकामा जति विकास भए, त्यो सबै जनताको इच्छा, चाहना, रुचिअनुसार भएको छ । तर, बजेटमा थोरै होला, काममा ढिलै होला, तर इच्छाअनुसार गरेकै छांै । साथै योजना छनोट तथा वितरण स्थानीयको भेलाबाट हुने गरेको छ । छनोट भएर आएका योजनालाई विशेष प्राथमिकताका साथ हामीले स्थान दिएका छौं । तर सीमित स्रोत र बजेटले स्थानीयले अझै भनेजस्तो योजना पाउन सकिरहेको अवस्था भने छैन ।

यहाँका स्थानीय तपाईंलाई जनप्रिय नेता मान्छन्, के तपाईं साँच्चै जनप्रिय नेता नै हो त ?
चोरले म चोर हुँ कहाँ भन्छ ? त्यो त कसैले पनि भन्दैन नि । यसको मतलब म उहाँहरूको सामु जननेता हुँला, तर त्यो कुरा मलाई थाहा छैन । जनताले भन्नुभयो, यो नै मेरा लागि विकासतर्फ थप लम्कने संकेत हो । यसरी नै उहाँहरूले हौसला दिनु, काममा तँछाडमछाड नगर्नु, एकढिक्का भएर जानुहोला विकास योजनामा ।

तपाईं कसरी जननेता बन्नुभयो नि ?
म कसरी जननेता बनें, म आफैंलाई नै थाहा छैन । म एक लामा समुदायको नागरिक पनि हुँ । मलाई यहाँ अरू जतिको काम गर्न सकस छैन । सबैको सहयोग जुट्छ । स्थानीयको गुनासो सुन्छु । त्यसैअनुरुप काम गर्छु । म बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई एकैनासको व्यवहार गर्छु ।

तपाईंले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार काम गर्नुभएको छ ?
चुनावका बेला भौगोलिक हिसाबले ठगिएको यस मुगूम कार्मारोङ गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, पर्यटन र सञ्चारको व्यवस्था गर्छु भन्ने प्रतिबद्धता गरेको थिएँ । अहिले तिनै प्रतिबद्धता कार्यान्वयन गर्दैछु । सबै पूरा भएका छैनन् तर सुरुवात भने गर्दैछु । शिक्षाको अवस्था केही सुधारिएको छ । चुनाव जितेको तीन महिनाभित्रै सबै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको भेला गराई २१ बुँदे प्रतिबद्धता गराएका छौँ ।
सरकारको दरबन्दीबाहेक गाउँपालिकाले ३० लाख छुट्याएर भाषा शिक्षक राखेका छौँ । काम सकिएको छैन । गर्न अझै बाँकी नै छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्ने अवस्था थियो । औषधि नपाउने अवस्था थियो । सिटामोल पाउनलाई सदरमुकाम गमगढी धाउनुपथ्र्यो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । भर्खरै ५ लाखको औषधि खरिद गरेका छौँ । पहिले ५ नम्बर वडामा मात्रै सञ्चार सुविधा भएकोमा अब ९ वटै वडामा सञ्चार सम्पर्कको व्यवस्था भएको छ ।
गाउँगाउँमा सडक खन्ने काम भइरहेको छ । भौगोलिक विकटताले सडक विस्तारमा समय लाग्नेछ । तर, यो काम मेरो कार्यकालभित्रै सम्भव हुन्छ । विद्युत्तर्फ चाम्नी गाडमा बत्ती बलिसक्यो । मह र रिउसमा १ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना प्रारम्भ भएको छ । अब करान भेगमा दुई वर्षभित्र सबै वडामा बत्ती बल्छ ।
पर्यटनको सम्भावना भएको यस गाउँपालिकामा धेरै तालतलैया, कोइकी हिमाल, छायानाथ धामलगायत धेरै क्षेत्र छन् । तर, ती गुमनामजस्तै छन् । तिनीहरूको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने काम भइरहेको छ ।

काम गर्दै जाँदा कस्ता–कस्ता चुनौती भोग्नुभयो ?
चुनौती र अवसर उस्तै छन् । मुख्य चुनौती त कर्मचारी नहुनु नै हो । भौगोलिक विकटता छ । तीनवटा वडामा मात्र सचिव छन् । स्वास्थ्यकर्मी दरबन्दीअनुसार छैनन् । बजेट कम छ ।

अन्त्यमा, आगामी दिनमा तपाईंको गाउँपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने यो तीन वर्षको कार्यकालमा जेजति काम गरियो, सन्तोषजनक नै गरियो । जनताका जुन इच्छा–आकांक्षा थिए, त्यो पनि गरियो । अब मैले चाहेको एउटा मात्र काम बाँकी छ । त्यो हो— गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका बनाउने । यति भएपछि मेरो यो पाँच वर्षको कार्यकाल यसैमा सन्तुष्ट हुनेछ । पछि आउने साथीले पनि यसरी जनताको इच्छाअनुसार काम गरे भने कुनै पनि क्षेत्रबाट बाहिरिनु पर्दैन । अब यो दई वर्षको अवधिमा यदि गाउँपालिकालाई नमुना बनाउन सकें भने राम्रै भयो, यदि सकिएन भने प्रयास गरौंला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्