नयाँ वर्षमा आशा र निराशा सरोबर «

नयाँ वर्षमा आशा र निराशा सरोबर

राजनीति अस्थिर हुने संकेत पाएपछि अलि–अलि सुधार हुन थालेको बजारमा पनि मन्दी देखा पर्न थालेको छ ।

वि.सं. २०७७ नेपालको इतिहासमै एउटा अविस्मरणीय वर्ष रहने भयो । कोरोनाको कहरबाट सुरु भएको वर्ष सकिँदै गर्दा राजनीतिले बन्धक बनायो । दुईतिहाइको इतिहासकै बलियो सरकार अचानक २०७७ को अन्त्यमा आउँदा कमजोर भयो र मुलुक एकपल्ट फेरि अस्थिरताको भुमरीमा फस्न पुग्यो । राजनीति अस्थिर हुने संकेत पाएपछि अलि–अलि सुधार हुन थालेको बजारमा पनि मन्दी देखा पर्न थालेको छ । कोरोना कहरका कारण थलिएको अर्थतन्त्रमा वर्षभरि रेमिट्यान्सको साथ रह्यो । तर, कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा घटेपछि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी बिस्तारै प्रभावित हुन थालेको छ ।
महामारीका कारण रेमिट्यान्स पठाउने अवैध माध्यमहरू बन्द हुँदा गत वर्ष लगातार बढिरहेको रेमिट्यान्सको वृद्धिदर २०७८ मा कायम नहुने संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ साउनमा रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएकोमा वृद्धिदर घट्दै २०७७ फागुनमा ८.६ प्रतिशतमा झरेको छ, जसको अर्थ वर्ष २०७८ मा रेमिट्यान्सको वृद्धिदर घट्दै जाने पक्का छ । किनकि आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । विगतमा लगातार तीन आर्थिक वर्षमा सन्तोषजनक रहेको आर्थिक वृद्धि पनि २०७७ सालमा आएर इतिहासकै कमजोर अवस्थामा पुग्यो । तर, रेमिट्यान्स आयको कारण अर्थतन्त्र डुब्नबाट भने जोगियो । केन्द्रीय तथ्यांक विभागले कोरोना कहरका कारण गत आर्थिक वर्षमा आधारभूत मूल्यमा १.९९ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रहने बताए पनि पछिल्ला महिना बजारमा केही चहलपहल थियो ।
वैदेशिक तथा स्वदेशी रोजगारी गुमेका कारण २०७७ सालमा १५ लाख ६७ हजारले रोजगारी गुमाउनुपरेको राष्ट्रिय योजना आयोगको अनुमान छ, जसका कारण करिब १२ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएको देखिन्छ ।
एक महिनायता कोरोनाको दोस्रो लहरको चर्चासँगै २०७८ पनि निराशाजनक नै देखिन्छ । कोरोनाका कारण स्रोतको अभाव छेलिरहेको अर्थमन्त्रालयलाई बजेट बनाउन पनि सकस परिरहेको देखिन्छ । चालू आर्थिक वर्षमा पनि अर्थतन्त्र ठप्प भएपछि सरकारले अघिल्लो आर्थिक वर्षभन्दा बजेटको आकार घटाउन बाध्य भएको थियो । आव २०७७÷७८ को बजेट अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले कम हो । किनकि अघिल्लो वर्ष १५ खर्ब ३२ अर्बको बजेट ल्याइएकोमा त्योभन्दा ५८ अर्ब कम अर्थात् १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको छ । तर, हालको अवस्था कायमै रहे आगामी आर्थिक वर्षको बजेट पनि घटाएर बनाउनुपर्ने बाध्यतामा अर्थमन्त्रालय रहेको छ । यही कोरोनाको दोस्रो लहर भयावह भएर बन्दाबन्दीकै अवस्थामा फेरि मुलुक गयो भने यसपटक अर्थतन्त्र नराम्ररी थला पर्ने निश्चत छ । तर आशा गरौं, यसपटक पनि पहिलो लहरझैं नेपालमा कोरोनाले धेरै क्षति नपु-याओस् । यदि क्षति पुग्ने अवस्था आएमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता त पछाडि पर्छन् नै, गरिबीको रेखामुनिका नागरिकको संख्या पनि बढ्छ ।
२०७७ तथा २०७८ साल गरी दुई वर्षको पूर्वाधार विकासको अभावमा मुलुक आउने एक दशक पछाडि पर्ने निश्चित छ । किनकि फेरि एकपटक जीवन महत्वपूर्ण कि भोक भन्ने प्रश्नमा मुलुक रुमल्लिने निश्चित छ । नेपाली अर्थतन्त्रको एउटा क्षेत्रले भने नयाँ वर्षमा पनि राम्रो गर्ने देखिन्छ । कोरोनाका कारण लगानीका अवसर खुम्चिँदै गएकाले सेयर बजारमा आकर्षण बढ्दै जानेछ । अर्थतन्त्रका समग्र परिसूचक नकारात्मक हुँदै जाँदा पनि लगानीको एउटा क्षेत्रमा अझै प्रभाव नपर्नु राम्रै भए तापनि एउटामात्र क्षेत्रको भरमा अर्थतन्त्र चल्न सक्दैन । सरकारले केही अत्याश्यक क्षेत्र चलायमान बनाउन मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्