कर्णाली प्रदेशसभाको बैठक आह्वान
सुर्खेत- कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख ३ गते सुरु हुने भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले २०७८ वैशाख ३ गते बैठकको आह्वान गरेका हुन् । अब कर्णाली प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गते दिउँसो २ बजे बस्नेछ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले सोमबार बैठकका लागि सिफारिस गरेकोमा प्रदेश प्रमुखले उक्त सिफारिस अनुसार नै बैठक बोलाएका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ । एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ३ गते बस्ने बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता सरकार अल्पमतमा परेपनि मुख्यमन्त्रीले संसदमै विश्वासको मत लिनेगरी तयारी भइरहेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले बताए । नेकपा एमालेले यही चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीहरुले पनि चैत २४ गते सामूहिक राजीनामा दिइसकेका छन् ।
यता, एमालेका सांसद सुशील थापाले भने नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया शुरु हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कर्णालीमा नयाँ बर्षसँगै नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढ्ने उल्लेख गरेका हुन् । कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने ४० सांसदमध्ये एक जना सांसदलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई कारवाही गरिएको हो ।
अब प्रदेश सभामा ३९ जना सांसद छन् । यीमध्ये एमालेका २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । समर्थक दलले समर्थन फिर्ता लिएमा मुख्य मन्त्रीले सो पदमा कायम रहन ३० दिन भित्रमा समर्थन जुटाउनुपर्ने संबैधानिक व्यवस्था अनुसार वैशाख ४ गते भित्रमा मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा विश्वासको मत देखाउनुपर्नेछ ।