कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला «

कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाई निर्वाचनमा जानुपर्ने बताएका छन् ।
प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारको विकल्प आवश्यक भएकोले कांग्रेसको नेतृत्वमा सरकार अनि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
उनले भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपाली कांग्रेसको नेतृत्व सबैले स्वीकार्छन् । यो सरकारको विकल्प कांग्रेसले नै दिनुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा निर्वाचन गराउन खोजेको नेता डा. कोइरालाले जनाए ।
जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन खोजिरहेको बताएका नेता डा. कोइरालाले नेकपा एमालेसँग जसपाले जुन रुपमा गठवन्धन गर्न खोजेको छ, त्यो प्रत्युत्पादक हुन्छ कि भन्ने आशंका समेत व्यक्त गरे । उनले भने, “जति दिन यो सरकार रहन्छ, उति नै अराजक र सर्वसत्तावाद हावी हुँदै जान्छ ।”
आउँदो भदौ ७ देखि १० गतेसम्म नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब कसैले रोकेर रोक्न सक्ने अबस्था नभएको उनले जनाए । निर्वाचन मंसिरमा वा चैतमा हुनुपर्ने नेता डा. कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्