होमस्टे सञ्चालनमा सक्रिय ग्रामिण महिला «

होमस्टे सञ्चालनमा सक्रिय ग्रामिण महिला

जुम्ला-विगतमा घरधन्दा र मेलापातमा मात्रै सीमित जुम्लाका ग्रामिण महिला पछिल्लो समय आर्थिक आम्दानीका क्षेत्रमा सक्रिय हुन थालेका छन् । समुह सहकारी तथा स्थानीय सरकार आएपछि सञ्चालित सशक्तिकरण कार्यक्रमले गर्दा व्यापार व्यवसाय, उद्यमशीलता लगायत आम्दानीका गतिविधिमा ग्रामिण महिला सक्रिय हुन थालेका हुन् ।
पातारासी गाउँपालिका ५ की राजकली रावत अहिले होमस्ट सञ्चालनमा व्यस्त छिन् । पहिले दैनिक मेलापात र घरधन्दामै सीमित हुने रावत अहिले होमस्टेमा पाहुनालाई स्वागत गर्ने, मिठो खुवाउने र आर्थिक आम्दानी गर्ने काममा सक्रिय रुपमा ला गेकी छिन् । हातेमालो नेपालको सहयोगमा पातारासी गाउँपालिका ५ स्थित मुगुको राराताल जाने बाटोमा पटमारा होमस्टे सञ्चालित छ । जसको नेतृत्व पातारासीका ६ जना ग्रामिण महिलाले गरिरहेका छन् ।
पटमारा होटस्टेको अध्यक्षसमेत रहेकी राजकली रावतले भनिन्, “महिलाले केही गर्न सक्दैनन् भन्ने पितृसत्ता सोच विद्यमान छ । तर हामी गाउँका महिला धेरै सचेत भइसकेका छौं । आर्थिक रुपमा महिला सक्षम बन्न होमस्टे सञ्चालनमा जुटेका छौं, निरन्तरता पनि दिन्छौं ।”
जुम्लाको उर्थु हुँदै मुगु रारा जाने छोटो पर्यटकीय मार्ग पनि भएकाले पटमारा होमस्टेमा आन्तरिक पर्यटक धेरै आउने गरेको रावतले बताइन् । स्थानीय महिला कविता बुढा, जकली थापा, हस्तना थापा, जनदेवी थापा लगायतका ६ जना महिला नियमित होमस्टे सञ्चालनमा जुटेका छन् ।
औचारिक पढाई नभएपनि संघसंस्था, समुह सहकारी र स्थानीय सरकारको चेतनाले गर्दा ग्रामिण महिला आर्थिक आम्दानीमा अग्रसर भएको स्थानीय महिला जनदेवी थापाले बताइन् । परम्रागत पहिरनको प्रचार, अर्गानिक कृषि उत्पादनको व्यापार तथा आर्थिक आम्दानी पनि राम्रो हुने भएकाले ग्रामिण महिलालाई होमस्टेमा आर्कषित भएको थापाको भनाइ छ ।
त्यस्तै पातारासीकै १० जना ग्रामिण महिला सफल उद्यमी बन्न ढाका बुनाइको तालिम लिइरहेका छन् । ३ महिने तालिमले सीप सिकेर गाउँमै उद्यमशीलता गर्ने सोचाइमा पातारासीका महिला छन् । हाल पातारासीका उद्यमी महिलाले ढाकाका दोसल्ला, टोपी, पछ्यौरीलगायतका कपडा उत्पादन गरिरहेका छन् । यता तातोपानी गाउँपालिका २ की बेलु चनाराले पनि एक महिने हाते होजियारी तालिम लिएकी छिन् । उनी व्यावसायिकरुपमा हाते होजियारीको कामलाई अघि बढाउने तयारीमा छिन् ।
पहिला बजारमा जुराप, टोपी स्वेटर किन्ने चनारा अहिले घरमै आफ्नै हातबाट बुनेर लगाउने गरेको सुनाउँछन् । चन्दननाथ नगरपालिकाकी हस्तना न्यौपाने डेरी उद्योबाटै मनग्य आम्दानी गर्दै आएकी छिन् । सानो लगानीमा सञ्चालन गरिएको उद्योगले अहिले रोजीरोटी जुटेको उनको भनाइ छ ।
पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले उद्यमी महिलाले उत्पादन गरेका ढाकाका विभिन्न सामग्रीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्ने बताए । उनले भने, “तालिमपछि प्रविधि पनि हस्तान्तरण गर्ने छौं । आयातित दोसल्ला प्रतिबन्ध लगाउने र ढाकाका दोसल्लालाई बढावा दिने नीति लिएका छौं भने नमुना व्यवसायीलाई अनुदानको समेत व्यवस्था गरिएको छ ।”
हातेमालो नेपालका कार्यकारी निर्देशक टेक रावतले पर्यापर्यटनको संरक्षणका लागि होमस्टे सञ्चालनमा सहयोग गरेको बताए । होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने करिब २ लाख ७० हजार बराबरको सामग्री तथा तालिम दिइएको उल्लेख गरे । परम्परागत घरलाई सिंगार्ने, शौचालय र बाथरुम बनाउन समेत सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्