डडेल्धुरामा औषधि अभाव «

डडेल्धुरामा औषधि अभाव

स्थानीय तहमा हस्तान्तरण भएपछि डडेल्धुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ३२ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण डडेल्धुराका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।
स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) ले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ । अहिले ती संस्थामा सिटामोल समेत पाउन छाडिएको जनाएको छ । जिल्लाको अजयमेरु गाउपालिकाको समैजी स्वास्थ्य चौकी,परशुराम नगरपालिकाका साादनी स्वास्थ्य चौकी, जोगवुढा अस्पताल, परिगाउ स्वास्थ्य चौकी, रुपाल स्वास्थ्य चौकी,वगरकोट स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ ।
“स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि पनि औषधिको अभाव हुने गरेको हुन्थ्यो, अहिले झनै अन्योल भएको छ,” अजयमेरु गाउपालिका समैजी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण पालले बताए । स्वास्थ्य मन्त्रालयको निर्देशनमा डडेल्धुराका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् । स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वृष शाहीले भने, “जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।”
जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातओटा स्थानीय तह छन् । सात वटै स्थानिय तहमा रहेका स्वास्थ्य केन्द्रमा पिल्सदेखि वच्चाहरुका लागि आवश्यक पर्ने सिटामोलसम्म छैन । औषधिको अभावमा गाउमा रहेका विरामीलाई समस्या भएको छ । गाउमा औषधि पशल नहुँदा सामान्य औषधि खरिदका लागि जिल्ला सदरमुकामसम्म धाउनु पर्ने वाध्यता रहेको संचारकर्मी लक्ष्मी पनेरुले बताइन् । “नेपाल सरकारले दिएका सम्पुर्ण औषधि पाउनु त कता हो कता सामान्य सिटामोल सम्म पाउन सकेका छैनन्,” पनेरुले भने, “स्थानीय तहको चरम लापरवाहीको मार गाउका विरामीले खेप्नु परिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्