रानाथारु समुदायको परम्परागत घर लोप हुँदै «

रानाथारु समुदायको परम्परागत घर लोप हुँदै

महेन्द्रनगर-आकर्षक परम्परागत डिजाइन । माटोले लिपपोत गरेको र काठले बनेको । अनुभवी मिस्त्रीले बनाएको आधुनिक पक्की घर भन्दा चिटिक्क देखिने घर रानाथारु समुदायअन्तर्गत संस्कृतिको एक पहिचान हो । तर पछिल्लो समयमा यस्ता परम्परागत घर विस्थापित भई धमाधम पक्की घर बन्ने थालेको छ । यसले गर्दा रानाथारु समुदायको परम्परागत घर भने लोप हुँदै गएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायको परम्परागत घर लोप हुँदै गएपछि रानाथारु समुदायको पहिचानसमेत लोप हुन लागेको हो । काठै काठबाट माटोले लिपपोत गरेर निर्माण गरिएका रानाथारु समुदायका परम्पारगत(काठे) घर जीर्ण भएपछि काठको अभावका कारण परम्पारगत घर लोप हुँदै गएको रानाथारु समुदायको भनाइ छ । घर निर्माण गर्दा पुरानो शैलीको निर्माण गर्नुपर्ने भएपछि पुरानै तवरमा निर्माण गर्नका लागि आवश्यक निर्माण सामग्री सहजै उपलब्ध नहुँदा रानाथारु समुदायको परम्परागत घर लोप हुने अवस्थामा पुगेको हो ।
“विशेष गररे रानाथारु समुदायको परम्परागत घर भनेको हाम्रो समुदायको पहिचान सरह नै हो, हाम्रो संस्कृति परम्परा चालचलन धर्म सबैसँग परम्परागत घर जोडिएको छ,” कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित नयाँ कटानका तुलसीराम रानाले भने, “परम्परागत घरको विशेषता नै छुट्टै हुन्छ, पछिल्लो समयमा परम्परागत घर निर्माण गर्नका लागि चाहिने आवश्यक चिजवस्तुको उपलब्धता सहज नभएका कारण रानाथारु संस्कृतिको परम्परागत घर लोप हुँदै गएको हो ।” रानाथारु समुदायको परम्पारगत घर जाडोयाममा न्यानो हुने गर्दछ भने गर्मीयाममा चिसो हुने गर्दछ । रानाथारु समुदायको संस्कृतिसँग जोडिएको परम्परागत घरको लोप हुँदै गएपछि रानाथारु समुदाय भने चिन्तित भएको रानाले बताए । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदाय विशेष गरेर खेतीपातीमै रमाउने गर्छ । तराईका फाँटमा खेतीपाती गर्नु त्यति सहज छैन । एकातिर खेत र अर्कोतिर बस्ती हुन्छ । उक्त समुदायको पेसा खेतबारी नै भए पनि सस्कृतिसँग जोडिएको परम्परागत घर भने फेरिँदै गएको छ ।
“परम्परागत घरमा काठ, माटो, खर, टायललगायत निमार्णको सामग्रीको प्रयोग हुने गर्दछ, पछिल्लो समयमा काठ एकदमै महँगो पर्दछ अरु सामग्री पनि पाइँदैन, टाढैबाट माटोले लिपपोत गरेको परम्पारगत घर देख्ने बित्तिकै रानाथारु बस्ती हो भनेर गर्व लाग्थ्यो,” उनले भने, “पछिल्ला दिन रानाथारु समुदायमा धमाधम पक्की घर निर्माण हुँदै गएका छन्, पुरानो किसिमको घर लोप भएसँगै रानाथारु समुदायको अस्तित्व पनि हराउँदै गएको छ ।” पक्की घर बनाउने होडबाजी चलिरहेको समयमा रानाथारु समुदायको आउँदो पिडिले परम्पारगत घरको झल्को पनि नपाउने अवस्था भएको तुलसीराम रानाले बताए । यसैगरी नयाँ कटानकै अर्का नाथुराम रानाले परम्पारगत घर निर्माण गर्ने अनुभवि मान्छेको अभावका कारण पनि परम्परागत घर लोप हुँदै गएको बताए ।
“जुन हाम्रो परम्पारगत घर लोप हुने अवस्था आइसकेको छ, किनभने एउटा त जंगलमा काठ पाउँदैनौ, पुरानो घरको खम्बा पनि कुहिँदै गएका छन् दोस्रो नयाँ खम्बा पाउन निकै गाह्रो छ । नयाँ कटानका नाथुराम रानाले भने, “योसँगै परम्परागत घर बनाउने मान्छेको कमी भयो, किनकि आजभोलिका नयाँ पुस्ताले यस्ता घरहरू बनाउन सक्दैन, पुराना–पुराना मान्छेले बनाउने भए पनि पुराना मान्छे नहुँदा समस्या भएको छ ।” पछिल्लो समयमा इन्जिनियर पढ्ने मानिसको पनि होडबाजी चलिरहेको छ । तर इन्जिनियरले पनि यस्तो किसमको रानाथारु समुदायको परम्पारगत घर निर्माण गर्न नसक्ने रानाले बताए । परम्परागत घर बनाउँदा सालको काठ चाहिने गर्दछ । घरको भित्रतिर सबैभागमा सालको काठ प्रयोग हुने गर्दछ । योसँगै खप्टा (टायल) पनि लगाउने गरिन्छ । रानाथारु समुदायको परम्पारगत घरमा पनि राना र चौधरी समुदायको फरक–फरक घर निर्माण हुने गर्दछ । बाहिरबाट एउटै घरजस्तो देखिए पनि भित्रबाट भने बनावटमा फरक हुने गरेको नाथुराम रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्