वियोगले बनायो करोडौँकी मालिक
खोटाङ-कमाएर परिवार पाल्दै आएका श्रीमान्सँगको साथ टुटेपछि पीडा सहन नसक्नेको जीवन अस्तव्यस्त बन्छ । तर, कसैका लागि त्यही पीडा संघर्ष गर्ने प्रेरणाको स्रोत बन्छ । यसको उदाहरण हुन् दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका –२की उद्यमी महिला गीता शंकर । २०५० सालमा श्रीमानको मृत्यु पछि ३ छोरी र १ छोरा हुर्काउने, पढाउने जिम्मेवारी शंकरको काँधमा आयो । त्यस समयमा उनीसँग न जागिर थियो, न कुनै व्यवसाय ।
साथी र आफन्तको सहयोगमा २० हजार रुपैयाँ लगानी गरेर शरद ज्वेलर्स सञ्चालनमा ल्याएकी शंकर अहिले व्यवसायमा सफलता मिलेको बताउँछिन् । “अहिले खोटाङका अधिकांशको रोजाइमा मेरो ज्वेलर्स पर्छ, म ग्राहकलाई सन्तुष्ट पार्छु” शंकर भन्छिन् । सीप र इच्छाशक्ति भए सफल व्यवसायी बन्न सकिने शंकर सुनाउँछिन् । सुन चाँदि आयात भने सहज नभएको कारण व्यवसायमा चुनौती थपिने गरेको उनको भनाई छ ।
राज्यले सुनचाँदी व्यवसायमा स्पष्ट नीति बनाउन आवश्यक रहेको शंकरले बताइन् । सरकारले सुनचाँदी व्यवसायलाई ‘व्यवसाय नै नमान्ने गरेको’ उनी बताउँछिन् । सरकारले सुनमा लगानी गर्ने, व्यवसायीलाई सहयोग गर्नुपर्ने उनको माग छ । “सरकारले लगानी नगरेकै कारण सुनमा कालोबजारी हुने गर्छ” शंकरले भनिन्, “कालोबजारी रोक्न विदेशी रेटमा नै सुन लिने र चार्ज मात्र जोड्नु पर्छ ।”
दिक्तेल बजारमा भाडाको घरमा व्यवसाय सुरु गरेकी शंकरले सोही घर किनिन् । व्यवसायबाटै काठमाडौँमा घरजग्गा जोडेकी शंकर शन्तानलाई पनि राम्रो शिक्षा दिएको र पढ्नका लागि विदेशसम्म पठाएको सुनाउँछिन् । व्यवसायमा दुई करोड बढी लगानी पुगेको उनले जनाइन् । अहिले उनलाई व्यवसायमा छोराछोरीको समेत साथ रहेको छ । आर्थिक अवस्था बलियो भएपछि हिम्मतसमेत बढ्दै गएको अनुभव उनीसँग छ ।
व्यवसायमा जोखिम
सुन चाँदी व्यवसाय आफैँमा चुनौतीपूर्ण व्यवसाय हो । सुन खरिद गर्न र जिल्लासम्म ल्याउनसमेत ठूलोे सकस पर्ने उनी सुनाउँछिन् । सुरक्षालाई पनि ध्यान दिनुपर्ने उनको भनाई छ । त्यसमा महिला भएकै कारण ग्राहकको विश्वास जित्न भने संर्घष गर्नुपरेको शंकर बताउँछिन् । “मैले शुरुबाट नै कामले सबैको मन जित्दै गँए” शंकरले भनिन्, “व्यवसाय शुरु गर्दा एक्लै सुरु गरेकी थिएँ, अहिले ७ जनालाई रोजगारीसमेत दिएकी छु ।” “पहिले–पहिले सुन खरिद गर्न काठमाडौँ पुग्नु पर्ने थिएन, गाउँघरका लाहुरेले विदेशबाट आउँदा ल्याएको सुन पाइन्थ्यो” शंकरले भनिन्, “अहिले पहिले जस्तो विदेशबाट काँचो सुन आउँदैन, सुन लिन काठमाडौँ नै पुग्नुपर्छ ।”
सरकारले व्यवसायमा गन्दैन
विभेद र छुवाछुतको मुल कारण नै आर्थिक पाटो हो भन्ने शंकर राज्यले दलितको नाममा गर्ने लगानीलाई व्यवसायमा लगाउनुपर्ने बताउँछिन् । “मैले व्यवसाय शुरु गरेदेखि नै कृषि विकास बैंकबाट ऋण लिएर काम गर्दै आइरहेकी छु” शंकरले भनिन्, “राज्यले व्यवसाय गर्ने महिलाका लागि बिना धितो ऋण उपलब्ध गराउनु पर्छ, जसले महिलाको आर्थिक अवस्था उकास्ने र बेरोजगारीको अन्त्यमा सहयोग पुग्छ ।” संघर्ष गर्दै जाँदा शंकरले एकपछि अर्काे सफलता पाउन सफल भएकी हुन् ।
कुनै समयमा बोल्नसमेत धकाउने उनी अहिले प्रदेशकै सफल महिला उद्यमी बनेको महिला उद्यमी संघ प्रदेश –१की संयोजक गोमा भट्टराईले बताइन् । पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो पकड जमाएको भट्टराई बताउँछिन्