क्यान र चौधरी ग्रुपबीच सम्झौता
नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई चौधरी ग्रुपबीच मुख्य प्रायोजन गर्नेबारेमा सम्झौता भएको छ । सोमबार सो सम्बन्धी सम्झौतामा नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच हस्ताक्षर भएको छ ।
क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो ।
सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
क्यानका अध्यक्ष चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गरे ।
क्यान क्रिकेट निर्देशक विनोद दासले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिए । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताए ।