वैदेशिक रोजगारको समाजिक लागत «

वैदेशिक रोजगारको समाजिक लागत

विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि, धारणा र सहकार्यलाई उपभोग गर्दै सामाजिक प्रभावलाई न्यून गर्ने दिशामा अगाडि बढ्नु अपरिहार्य छ ।

विश्व भूमण्डलीकरणपश्चात् वैदेशिक रोजगारी अनिवार्य र भौगोलिक सीमाले छेक्ने विषय अब रहेन । जसको कारणले गर्दा विश्वमा २१ करोड ५० लाख मानिस वैदेशिक रोजगारीका लागि आफ्नो देशबाहिर रहेका छन् । नेपालबाट पनि बाहिरिने जनसंख्यालाई हेर्दा वि.सं. २०६८ मा १९ लाख २१ हजार ४ सय ९४ पुगेको देखिन्छ, तर अनौपचारिक रूपमा जानेको संख्यासमेत हेर्दा ५० लाख युवा रोजगारीका क्रममा विदेश गएको भन्ने गरिएको छ । यो अवस्थाप्रति हामी त्यति चिन्तित छैनौं, किनकि ती युवाले पठाएको रेमिट्यान्सबाट हाम्रो अर्थतन्त्र चलिरहेको छ । त्यसमा नै हामी खुसी मनाइरहेको छांै । यसबाट हाम्रा ग्रामीण जीवन र सामाजिक संस्कारहरू विरुप्त बनेको छ ।
गुल्मीको एक गाउँको दृष्टान्त हेर्दा काइँला बा आफ्नो कान्छा छोरा विदेश नगएकै कारण बिहे नहुने भयो भनेर चिन्ता व्यक्त गर्दै थिए । नरे हिजो मात्र साउदबाट आयो रे । तँ भने विदेश जाने सोच नै बनाउँदैनस् भन्दै आफ्नो छोरालाई गाली गर्दै थिए । लाठे भैसक्यो, इलाम छैन, विदेश गएर नआएसम्म यसलाई बिहे गर्न कसले छोरी देलान् भनिरहेका थिए । उनी पनि तीन बीसको उमेर भइसकेको र ठूला छोरो साउदी गएको छ रे अनि बुहारी नातिनी पढाउन सहर पसेको छ । यो त प्रतिनिधि घटना मात्र हो यो र यस्ता घटना त नेपाली समाजमा कैयांै छन् ।
नेपाली समाजमा अब छोरी दिनका लागि ठूलो परालको मचान हेर्ने होइन, प्रशस्त खेतीयोग्य जमिनको खोजी गर्ने होइन, अब विदेश जाने योग्यता र दुई–चार पैसा कमाएर ल्याउन सक्ने, विदेश जाने मन हुनुपर्छ भन्ने धारणाले अब ग्रामीण स्तरमा बलियो जग बसाइसक्यो । नेपाली ग्रामीण भेगमा अहिले १८ देखि ४० पुगेको युवा खोजी गर्दा पाउन मुस्किल नै पर्छ । युवाजति विदेशमा, वृद्धाजति गाउँमा र बुहारीजति सहरमा रहेको अवस्था छ ।
अर्को दृष्टान्तका रूपमा केही समयअघि सानेको घरमा उसको बाबाको मृत्यु हुँदा लास उठाउन मान्छे नभएर अधिकांश ४० काटेका महिलाले दाहसंस्कार स्थलसम्म लगेका थिए । मेरो आफ्नै अनुभवलाई साक्षी राख्ने हो भने म सानो छँदा जाने गरेको पारि पाखाको बारी नटेकेको पनि जुगै भइसक्यो । हिजोआज जंगल भएको छ रे ! त्यहाँ त बाघ र मृगको क्रीडास्थल पो भएको छ रे ! साथीहरूसँगै घाँस–दाउराका लागि जंगल जाँदा दोहोरीको झंकारसँगै सुसेलीको तालमा घाँसको भारी पुगेको पत्तै पाइँदैनथ्यो त्यो जंगलमा । फेरि वन हेरालुले जंगलमा घाँस–दाउरा काट्यो भनेर लखेटेका घट्ना मानसपटलमा अझै ताजै छ ।
तर, अहिले जंगलमा हेरालुको आवश्यकता नै छैन रे मेरो गाउँमा । गाउँमा त दाउरा काट्नु पर्दैन रे, किनकि अब खाना पकाउने कार्य त ग्यासमा हुने गरेको छ । घाँस काट्नै पर्दैन, किनकि घाँस खाने गाईभैंसी पाल्नै पर्दैन, छोडिसकेको छ । किनभने गाउँकी भाउजूले भैंसी दुहुन जान्दिनन् र पल्लो बजारबाट दूध किनेर खान्छिन् रे । बारीमा मलका लागि पालिने गाई अब पाल्नै पर्दैन रे, किनकि बारीमा अब अन्न लगाउन छोडिसके रे । अब गाउँका पाटामा फल्ने मकै तथा कोदो अब लगाउनै पर्दैन रे ! किनकि त्यस्ता अन्न खाने बानी छुटिसकेको छ, गाउँमा बस्ने जनतामा ।
हिजोआज त गाउँमा कुटो–कोदालो गर्ने मान्छेलाई त घृणाका रूपमा खिसीटियुरे गर्छन्— फलाना त कृषक भनेर । तर पनि हाम्रो अर्थतन्त्र कृषि नै भन्न छाड्दैनौ हामी । किनकि हामीकहाँ भएका बेरोजगारी लुकाउने पेसाका रूपमा लिइन्छ यसलाई । तर, कृषि गर्नु पर्दैन, कृषि गर्नेको छोरा सीधै कृषक हो भनेर समाजले मान्ने गरेको छ । यसो नभन्ने हो भने काम नहुनेहरूको रोजगारीको क्षेत्र कृषि भन्न कहाँ पाइन्छ र ?
यदि सबै कृषक हो भनेर चिनाइएका ७१ प्रतिशत जनताले कृषि नै पेसाका रूपमा अनुसरण गरिदिएको भए वार्षिक रूपमा १ खर्बबराबरको खाद्यान्न नेपालले आयात गर्ने परिस्थिति आउँदैनथ्यो । कृषि विज्ञहरूको दाबी छ, नेपालमा कृषिको उत्पादकत्व बढेको छ, तर खोइ त बढेको भए हाम्रा उत्पादन कता गए ? पञ्चायत कालमा हामी धान निर्यात गथ्र्यौं, तर अहिले आयात ।
कृषिमन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालको कृषि भूमि तराईमा १० प्रतिशत र पहाडमा ३० प्रतिशतसम्म बाँझो छ, जसले गर्दा १० वर्षअघि हाम्रो उत्पादन बढी भएर १० प्रतिशत निर्यात गर्ने गरेकोमा हाल ३० प्रतिशत आयात गर्ने अवस्थामा पुगेको छ, यसको एउटा कारण युवा जनशक्तिको बहिरगमन नै हो । दैनिक १५ सयको हाराहारीमा बाहिरिने जनशक्तिका कारण यो क्षेत्र धाराशायी भएको पाइन्छ ।
नुवाकोटको कुनै एक गाउँमा ५० घरमा करिब प्रायः सबै घरबाट रोजगारीका लागि विदेश गएका छन् । युवाविहीनझैं छ त्यो गाउँ । छोराछारी अभिभावकको अनुपस्थितिमा हुर्कनुपर्ने बाध्यताका कारण बालबच्चामा नकारात्मक असर परी प्रायः सबैका छोराहरू लागूऔषधको कुलतमा फसेको छ । वैदेशिक रोजगारीमा श्रीमान् गएकाले श्रीमतीले एक–अर्काको स्नेह र प्रेमबिना नै यौवनावस्था गुजार्नुपरेकाले दोस्रो साथी खोज्ने प्रवृत्ति बढ्दै गएको छ गाउँभरि, जसले गर्दा केही दिनअगाडि हर्के (नाम परिवर्तन) को सन्बन्ध विच्छेद नै भयो र उता उसको माइली काकीको बुहारी अर्कैसँग दोस्रो बिहे गरी हिँड्ेछ, त्यो पनि छोराले पठाएको सबै पैसासमेत बोकेर । यस्ता खालका पारिवारिक विखण्डन तथा हिंसाका कारण त्यो गाउँको सामाजिक जीवन आक्रान्त बन्दै गएको छ । हो, यस्तै कथा नेपाली ग्रामीण समाजको अब विशेषता बनिसकेको छ ।
पूर्वीय संस्कृतिको हिमायतीका रूपमा रहँदै आएको नेपाली समाजमा आध्यात्मिक दर्शन र चिन्तनमा आधारित सनातनी परम्परा रहे पनि विदेशबाट फर्कने नेपाली र उनीहरूले सिकेर आएको विदेशी संस्कारको उपस्थितिसँगै पाश्चात्य संस्कृतिले प्रभाव बनाउँदैछ । खासगरी भौतिकवादी दर्शन र विचारधाराबाट प्रभावित पश्चिमी संस्कृतिले मानवीय मूल्य–मान्यता, आध्यात्मिक दर्शनलाई भन्दा सामाजिक सुख भोग र भौतिकवादी जीवनशैलीलाई महत्व दिन्छ, यसले शास्त्रीय मूल्य–मान्यता र परम्परालाई खासै विश्वास गर्दैन, आधुनिक जीवनपद्धति र उपभोगवादी शैली यसका विशेषता रहेको सन्दर्भमा नेपाली समाजमा पनि त्यस प्रकृतिका विषयहरूले स्थान पाएको स्पष्ट रूपमा देखिन्छ ।
पूर्वीय संस्कृतिले वेदलाई जीवन पद्धतिका रूपमा लिएर त्यसैलाई सामाजिक अभ्यास गरायो भने पश्चिमा संस्कृतिले अध्ययन अनुसन्धानबाट निस्केका विषयवस्तुलाई आफ्नो दृष्टिकोण मानी सामाजिक अभ्यास गराउँदै लग्यो । नेपालीहरूमा पनि विदेशीको प्रभावसँगै परिमार्जित पूर्वीय संस्कृति तथा आविष्कारिक तथा अनुकरणात्मक पश्चिमा संस्कृतिले प्रभाव फैलाउँदै आएको छ, जसले गर्दा गुरुदेव भवः वसुदैव कुटुम्बजस्ता पक्षहरू नेपाली संस्कार र सस्कृतिबाट स्खलित हुदै आएको छ
वैदेशिक रोजगारीका नाममा बिदेसिने युवा जनशक्तिको पलायनसँगै यसले सामाजिक क्षेत्रको मात्र विचलन नगरी प्रजनन दरमा कमी आएको छ, तर औसत आयुमा भने वृद्धि भएको अवस्था छ । यसले गर्दा आर्थिक वृद्धिमा श्रमको योगदान घट्नेछ । यो वार्षिक आर्थिक वृद्धिको ०.३ प्रतिशतले मात्र बढी हुने एक अध्ययनले देखाएको छ । यही अध्ययनलाई नजिर मान्दा वैदेशिक रोजगार हाम्रो सन्दर्भमा क्षणिक फाइदा देखिए पनि दीर्घकालका लागि नोक्सानी देखिन्छ । तसर्थ पनि मुलुकको युवा जनशक्तिलाई देशभित्रै रोजगारीको सिर्जना गरी मुलुक र समाजको सकारात्मक उन्नति एवं प्रगति तथा सामाजिक एवं सांस्कृतिक सद्भावलाई अझ परिमार्जित एवं दरिलो बनाउनु आवश्यक छ । यसका लागि विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि, धारणा र सहकार्यलाई उपभोग गर्दै सामाजिक प्रभावलाई न्यून गर्ने दिशामा अगाडि बढ्नु अपरिहार्य छ । यसो गर्न सकिएको खण्डमा देशले लिएको सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्