मोबाइल एप ल्याउने ब्रोकर एसोसिएसनको तयारी
स्टक ब्रोकर एसोसियनले मोबाइल एपसहितको कारोबार प्रणाली (टीएमएस) ल्याउने भएको छ । विभिन्न देशमा प्रयोग भइरहेको टीएमएस ल्याउनका लागि सम्झौता भई काम अघि बढिसकेको एसोसियसनले जनाएको छ ।
सेयर व्यवसायी र लगानीकर्ताहरु नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पूरा गर्न, अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न तयार रहेको एसोसियसनले विज्ञप्ति जारी गरेर जनाएको छ ।
आधिकारिक प्रतिनिधि तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन ट्रेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र इन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई गति प्रदान गर्ने उद्देश्यले काम गरिरहेको एसोसियसनले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संरचना विकास गरी सोही स्तरको ब्रोकर सेवा लागानीकर्ताहरुलाई उपलब्ध गराउन ब्रोकरहरु तयार रहेका छन् । यसका लागि नियामक निकाय तथा बजार सञ्चालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा ब्रोकरहरुको छ ।
कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अन्त्य गर्न व्यवसायीहरुको सयुक्त पहलमा १० भन्दा बढी राष्ट्रमा प्रयोग भइरहेको टीएमएस ल्याउने सम्झौता गरी उक्त प्रणाली स्थानीयकरण-अनुकूलन गर्ने काम अघि बढाइएको एसोसिएसनले जानकारी दिएको छ । सरोकारवाला निकायको पर्याप्त सहयोग प्राप्त भएमा २०७८ साउन १ गतेबाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा एसोसियसनको छ ।
मल्टी एसेस्ट, मल्टी एक्सचेञ्ज ट्रेडिङ प्लापफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने बताइएको छ । मोबाइल एप सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान एसोसियसनले जनाएको छ । अर्थतन्त्र, बजार तथा सूचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने बताइएको छ ।
लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणालीमार्फत हेर्न पाउने छन् ।