गौचनको हत्याको विरोधमा झापाका निर्माण व्यवसायी आन्दोलित «

गौचनको हत्याको विरोधमा झापाका निर्माण व्यवसायी आन्दोलित

बिर्तामोडः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा झापाका निर्माण व्यवसायी आन्दोलित भएका छन् ।

सोमबार घरबाट अफिस जानेक्रममा काठमाडौंको बानेश्वरमा गौचनका गोली हानी हत्या भएपछि यहाँका व्यसायीहरु आन्दोलित बनेका हुन् । निर्माण व्यवसायी संघ झापाले गौचनको हत्याको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते निर्माण व्यवसायीहरुको सुरक्षा र दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाइएको छ । हत्यारा पत्ता लगाइ हिरासतमा नलिएसम्म बोलपत्रका सम्पूर्ण कार्यमा सहभागी नहुने र असोज २५, २६ र २७ गते सम्पूर्ण निर्माण कार्य बन्द गर्ने निर्माण व्यवसायीहरुले जनाएका छन् ।

संघका झापा अध्यक्ष मिलन बस्नेतले महासंघका अध्यक्ष गौचनको हत्याले निर्माण व्यवसायीमाथि ठूलो बज्रपात परेको बताए । गौचनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष बस्नेतले मुलुकको विकास, बजेटको ८० प्रतिशत बजेट परिचालन गर्ने निर्माण व्यवसायी अभिभावकविहिन बनेको बताए ।

प्रहरीले गौचन हत्याको घटना छानविन गर्न केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति समेत गठन गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्