Logo

प्रयत्न गरौं, सफलता आफैं हात पर्छ

नेपालमा एउटा उखान छ, काम गरौं तर फलको आस नगरौं । यसको सारभूत कुरा गर्नुपर्दा यदि तपाईं कुनै पनि कार्य आफ्नो भित्री दृढ संकल्पका साथ गर्नुहुन्छ भने त्यसको अवश्य सफलता हासिल गर्न सकिन्छ । उदाहरणका लागि नेपाली चेलीहरू अनुराधा पौडेल, पुष्पा बस्नेत, मुस्कान खातुनजस्ता प्रगतिशील महिलाहरूले पाएको सफलतालाई लिन सकिन्छ । उहाँहरूले गर्नुभएको मेहनत, त्याग, तपस्याले नै आज उहाँहरू विश्वसामु एक प्रगतिशील महिलाका रूपमा स्थापित हुुन सक्नुभएको हो । उहाँहरू नेपालका उदाहरणीय व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूजस्ता प्रत्यक्ष सम्पर्कमा नरही पनि आफ्नो कर्ममा लाग्नुभएका सम्पूर्ण प्रयत्नशील दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक नमन भन्न चाहन्छु । उहाँहरूप्रति हाम्रो उच्च सम्मानसमेत रहेको छ । उहाँहरू सामाजिक अभियानमा लागी सफलता हासिल गर्ने व्यक्तित्वहरू हुनुहुन्छ ।
अब कुरा गरौं, उद्योगी–व्यवसायीहरूको । हाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका रूपमा निर्वाचित एवं आईएमई ग्रुपका अध्यक्षसमेत रहनुभएका आदरणीय उद्योगी–व्यवसायी चन्द्रप्रसाद ढकालको विगतका संघर्षका कथा एक अनलाइन मिडियामार्फत पढ्ने अवसर मिलेको थियो, जुन एक कथा नभएर हाम्रो लागि एक प्रेरणा र अनुसरण गर्न लायक विषयवस्तु थियो । सम्पूर्ण जोसिला युवा पुस्ताले पढी प्रेरणा लायक विषयवस्तु सम्प्रेषण गर्ने प्रतिष्ठित मिडियाप्रति हार्दिक आभार व्यक्त गर्छु । सारांशमा विषयवस्तु उठान गर्न चाहन्छु । उहाँ एक सरकारी बैंकको जागिरे हुनुहुन्थ्यो । जति बेला उहाँलाई आफैं केही गर्ने इच्छा भयो, आफूले चाहेको कार्य गर्नका लागि आफू कार्यरत बैंकले चाहेजति ऋण दिन नसक्ने भन्ने कुरा भएपछि उहाँले जुन कार्य थालनी गर्ने सोच बनाउनुभएको थियो, उक्त कार्य गर्न नसक्ने अवस्था भयो । तर, उहाँको जोस, जाँगर र कर्ममा नै विश्वास गर्ने संकल्पका साथ भएको सरकारी जागिरलाई छाडेर ट्रान्सपोर्ट, कुरियरजस्ता कार्य शुभारम्भ गर्दै आफ्नो सोचेका कार्यहरूको सुरुवात गर्दै अगाडि जाँदै आजको दिनसम्म आइपुग्नुभएको छ, जुन कार्यहरू गर्नका लागि उहाँका दृढ इच्छा, सकारात्मक सोचका कारण नै सम्भव भएको हो । रोजगारी र व्यवसाय इमानदारीका साथ कार्य गर्न सकेको खण्डमा तपाईं–हामी पनि चन्द्रप्रसाद ढकाल बन्न सक्छौं ।
चन्द्रप्रसाद ढकाल एक संघर्षबाट एक सफल उद्योगी–व्यवसायी बन्न सफल बन्नुभयो । उहाँ र उहाँजस्ता अन्य प्रतिष्ठित उद्योगीहरूको संघर्षका कथा धेरै नै रहेका छन् । रोजगारी गर्ने व्यक्तिले कामलाई कहिले पनि सानो ठान्नु हुँदैन, सानो–सानो काम नै भोलि सफलता प्राप्त गर्ने गतिलो खुड्किलो बन्न सक्छ, त्यसैले तपाईं आज जे कार्य गर्नुहुन्छ त्यस कार्यमा डटेर कार्य गर्नुहोस्, भोलिका दिनमा त्यही कामले तपाईंको भविष्यसमेत निर्धारण गर्न सहयोग पु¥याउनेमा दुईमत छैन । तपाईं आज जे कार्य गर्नुहुन्छ, त्यस कामले नै काम सिकाउँछ । त्यसैले त्यसै कामलाई मन, चित्त लगाएर खोजमूलक कार्य गर्दै रोजगारी गर्दै जानुहुन्छ, तपाईं सफलता प्राप्त गर्न सक्षम हुनुहुन्छ र भविष्यमा एक सफल उद्योगी, व्यवसायी र एक सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ ।
—जमुनादेवी पौडेल

प्रतिक्रिया दिनुहोस्