एकल भुक्तानी बिमालेख सर्मपणमा कडाइ «

एकल भुक्तानी बिमालेख सर्मपणमा कडाइ

बिमा समितिले एकल भुक्तानी प्रकृतिका बिमालेखको आत्मसर्मपण र कर्जामा कडाइ गरेको छ । समितिले जीवन बिमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै एकल बिमा शुल्क भुक्तानी बिमा लेख तीन वर्षसम्म आत्मसमर्पण नगर्न र कर्जा नदिनका लागि निर्देशन दिएको हो ।
जीवन बिमा कम्पनीहरुको अत्यधिक प्रतिस्पर्धाका कारण एकल भुक्तानी प्रकृतिका बिमालेखहरु जारी गरेर छिट्टै आत्मसमर्पण गर्ने प्रवृत्ति बढेपछि समितिले निर्देशन दिएको हो ।
जीवन बिमा कम्पनीहरुमा अभिकर्ता र एजेन्टहरुले एकल शुल्क भुक्तानी बिमालेख जारी गर्ने, बिमालेख जारी भएको केही समयभित्र ऋण लिने र एक वर्षभित्र आत्मसमर्पण गराउन थालेका थिए । बिमालेख व्यतित हुनु अगावै आत्मसमर्पण गर्दा नोक्सान हुने भए पनि व्यवसाय वृद्धि भएको देखाउनकै लागि कम्पनीहरुले यस्ता गतिविधि गर्दै आएका थिए ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीलाई खोक्रो बनाएर अभिकर्ता र एजेन्टका नाममा चलखेल गरेको पाइएपछि एकल बिमालेखमा कडाइ गरिएको बताए । “एजेन्ट र अभिकर्ता मोटाउँदै जाने, कम्पनीलाई खोक्रो बनाउँदै जाने खेल भइरहेको थियो,” उनले भने, “त्यसका लागि एकल बिमालेख सरेन्डर र ऋणको व्यवस्थामा कडाइ गरेका हौं ।”
जीवन बिमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने भएपनि अहिले त्यस्तो नदेखिएको अध्यक्ष सिलवालले बताए । “अभिकर्ताको भूमिका बिजनेस ल्याउने र पहिलो प्रिमियम आएपछि चुप लागेर बस्ने होइन,” उनले भने, “त्यसपछि बिमितलाई प्रिमियमको जानकारी दिनेदेखि दावी भुक्तानीमा समेत सहयोग गर्नुपर्छ ।”
बिमा कम्पनीहरुले अभिकर्ताले कानुनले तोकको भन्दा बढी सेवासुविधा दिएको भन्ने गुनासो आएको भन्दै अध्यक्ष सिलवालले त्यसलाई व्यवस्थित गर्न समिति सक्रिय भएको जानकारी दिए । “बिमा जोखिमसँग सम्बन्धित व्यवसाय भएकाले हामी बिमितलाई जोखिममा राख्न सक्दैनौं,” उनले भने, “बिमाको बजार विस्तार र विश्वसनीय हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्