आहा रारा गोल्डकपको उपाधि संकटालाई
पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनलाई टाइब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दै काठमाडौंको संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ को उपाधि जितेको छ ।
शनिबार करिब १० हजार दर्शक माझ पोखरा रंगशालामा भएको फाइनल खेलमा टाइब्रेकरको सहायताबाट संकटाले पाहुना टोली अफ्रिकन रुटलाई पराजित गर्दै आहा रारामा नयाँ इतिहास रच्दै उपाधिको साथमा नगद १० लाख १ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।
संकटाले ९० मिनेटको निर्धारित समयमा दुवैतर्फ एक÷एक गोलले बराबरी ३० मिनेटको अतिरिक्त समयमा समेत दुवैतर्फ गोल नभएपछि खेल निर्णायकको लागि टाइब्रेकरमा पुगेको थियो । उपविजेता भएको पाहुना टोली अफ्रिकन रुटले भने ट्रफीको साथमा नगद ५ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ । अफ्रिकन रुट एसोसिएसनको तर्फबाट टाइब्रेकरमा कुती र एम वाकोपले गोल गर्न चुके । संकटाको जितमा भने अमित तामाङ, सुवास गुरुङ, निराज बस्नेत र आयुस घलानले गोल गरे । संकटाका सरोज दहालले प्रहार गरेको बल विपक्ष गोलरक्षक हेल्भियोले बचाउ गरे । अफ्रिकन रुटका एनीक र रिमले टाइब्रेकरमा गोल गरेका हुन् । संकटाले आहा रारामा पहिलो पटक फाइनलमा पुगेर उक्त उपाधि जितेको यो पहिलो संस्करण हो ।
प्रतियोगितामा संकटाका गोलरक्षक राजाबाबु थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइनल खेलमा म्यान अफ दी म्याच र प्रतियोगितामा उत्कृष्ट गोलरक्षकको उपाधि समेत आफ्नो पोल्टामा पार्न सफल भएका थापाले उत्कृष्ट खेलाडीको उपाधिको साथमा एक थान स्कुटर समेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट मिड फिल्डरमा अफ्रिकन रुटका रिम, उत्कृष्ट स्टाइकरमा अफ्रिकन रुटका बसिक, उत्कृष्ट डिफेण्डरमा संकटाका निरज बस्नेत र उत्कृष्ट प्रशिक्षकमा अफ्रिकन रुटका प्रशिक्षक स्यालवियो घोषित भए । उनीहरुलाई सूर्यबहादुर के.सी. स्मृति अवार्डको साथमा जनही नगद २५ हजार समेत प्रदान गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्तातर्फ चार जनाले उपाधि सहित २५ हजार रुपैयाँ बाँडेका छन् ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, किरण केसी र रोशन केसी, क्लवका अध्यक्ष केशव बहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । ७ दिन संचालन भएको प्रतियोगितामा पाहुना टोली अफ्रिकन रुट एशोसियसन सहित ८ टिमको सहभागिता रहेको थियो ।