निजीक्षेत्रलाई विस्वासमा लिएर अघि बढ्ने पौडेलको प्रतिवद्धता «

निजीक्षेत्रलाई विस्वासमा लिएर अघि बढ्ने पौडेलको प्रतिवद्धता

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई विस्वासमा लिएर मनोबल नबढाएसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको प्रथम साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए । उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि उनले बताए ।
कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका प्रयत्न गरेको बताए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनरुत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे ।
आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताए । उत्पादन बढाउँदा आयात आफै निरुत्साहित हुने उनको भनाई छ । नीतिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस्