Logo

लगानीको आधार बन्दै पुँजीबजार

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण हाम्रो मुलुकमा पनि पछिल्लो समय बन्दाबन्दी र लकडाउनको सामना झेल्नुप¥यो । यसले धेरै मानिसको रोजीरोटीसमेत गुमेको थियो । तर, अब मुलुकले धेरै लामो समयको बन्दाबन्दी खप्न भने सक्ने अवस्था थिएन । अर्थतन्त्रको अवस्था भने निकै खस्किसकेको थियो । तर हाल आएर मानिसहरूको दैनिकी सामान्यजस्तै भए तापनि कोरोनाको कहर भने दिनानुदिन बढिरहेको अवस्था छ । सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सरकारले तोकेको मापदण्डअनुसार नै सावधानी अपनाएर दैनिकी कार्य सञ्चालन भएको देखिन्छ ।
मानिसहरूले यस्तो विषम परिस्थितिमा दुई–चार पैसा भोलिको सुनिश्चित भविष्यका लागि भए पनि जम्मा होस् भन्ने उद्देश्यले अहिले धेरै मानिसको रोजाइमा परेको छ— पुँजीबजारमा लगानी । छोटो समयमा नै न्यून रकम लगानी गर्नाले छिटो नै प्रतिफल दिने भएकाले अहिले धेरै मानिसहरू पुँजीबजारमा लगानी गर्ने गर्छन् । सेयर भर्ने मानिसको संख्या अर्थात् डिम्याट खाता खोल्ने मानिसहरू मात्रै पछिल्लो चरण ह्वात्तै बढेर ३० लाख भन्दा बढी पुगेको अनुमान लगाउन सकिन्छ । यसमा बढी युवायुवती, विद्यार्थी, केटाकेटी र बूढाबूढीसमेतको सहभागिता रहेको छ ।
आईपीओमा न्यूनतम मूल्य १ कित्ताबराबर रु. सयका दरले सर्वसाधारणलाई १० कित्ताबराबरको सेयर जारी गर्छ र त्यो १० कित्ता भनेको १ हजार रुपैयाँ पर्न आउँछ । कस्तो अचम्म ! १ हजारबराबरको आईपीओमा लगानी गर्दा सेयर निष्कासन गर्ने कम्पनीले सो आईपीओको सेयर बाँडफाँड नभएसम्म उक्त १ हजार रुपैयाँ होल्ड गर्ने गर्छ र पछि आईपीओ नपरेको खण्डमा उक्त रकम फेरि फिर्ता दिने गर्छ । यदि सेयर परेमा सो रकम सेयर जारी गर्ने कम्पनीले लिन्छ अनि धितोपत्र बजारमा उक्त कम्पनीले आफ्नो कम्पनीको मूल्य बजारमा निष्कासन गर्छ । उदाहरणका लागि कुनै ए भन्ने व्यक्तिले १० कित्ता आईपीओ भरेको थियो, तर उसको १० कित्ता सेयर प¥यो भने पछि त्यस कम्पनीको भाउ बढेर मानिलिऊँ १ हजार रुपैयाँ भयो भने उसको अब १ कित्ताबराबर १ हजार भने १० कित्ता बराबर उसको १० हजार रुपैयाँ हुन आउँछ । हो, यसरी मानिसहरूले घरमै बसी–बसी पनि लाखौं रुपैयाँ कमाएकै छन् । तर, धितोपत्र बोर्डले पनि बैंक जाने झन्झटलाई कम गराई घरमा नै बसेर सेयर भर्ने, सेयर बिक्री गर्नेलगायत सरल रूपमा सेयर एप्लिकेसनमार्फत मिलाएको हुनाले अहिले धेरैको रोजाई आईपीओ मात्रै देखिन्छ ।
राम्रा–राम्रा कम्पनीहरू छनोट गरी भविष्यमा उक्त कम्पनीहरूको मूल्य बढ्ने हिसाबले पनि धेरै मानिसले ठूलाठूला कम्पनी तथा मुनाफा बढी दिने कम्पनीहरू सेकेन्डरी मार्केटमा खरिद गर्ने गर्छन् वा लगानी गर्छन् । लगानीअनुसार मुनाफा पनि उत्तिकै भएका छन् भने पछिल्लो चरण सेकेन्डरी मार्केट प्रवेश गरेको देखिन्छ । तर, पछिल्लो समय भने मानिसहरूको अत्यधिक लगानी गरेको भने आईपीओमा नै देखिन्छ । आईपीओ भर्दा पनि धेरै नै विचार पु¥याउनुपर्ने देखिन्छ । कति मानिसहरूले त आईपीओ भनेर कम्पनीको ऋणपत्र पनि खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्