भयावह बन्दै वायु प्रदूषण «

भयावह बन्दै वायु प्रदूषण

विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । यो जनस्वाथ्यका हिसाबले चिन्ताको विषय हो । उपत्यकामा जडान गरिएको वायु प्रदूषण मापक स्टेसनले वायु प्रदूषण निकै अस्वस्थकर भएको देखाएको छ । वातावरण विभागको वेबसाइटमा अघिल्लो शुक्रबार साँझ ललितपुरको भैंसेपाटीमा रहेको वायु गुणस्तर सूचकांक अक्वा ४ सय ४७ रेकर्ड हुन पुग्यो । यति धेरै मात्रामा वायु प्रदूषणको मात्रा बढ्नु जनस्वास्थ्यका लागि अत्यधिक घातक हो । पछिल्लो समय काठमाडांै उपत्यकामा वायु प्रदूषणको स्तर झन्–झन् बढ्दै गइरहेको छ ।
वायुको गुणस्तर तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डमा रहेको संस्था एअर भिजुअलका अनुसार गत शुक्रबार वायुको स्तर र प्रदूषित सहरको सूचीमा विश्वका झन्डै १ सय सहरमा काठमाडौं पहिलो नम्बरमा रहन पुग्यो । यसरी वायु प्रदूषणका हिसाबले काठमाडौं सहरले संसारका अन्य सबै स्थानलाई उछिन्यो । यो आफैंमा एउटा विडम्बनापूर्ण अवस्था हो । यसले हामी कतिसम्मको घातक स्तरको वायु प्रदूषणको अवस्थामा रहेका छौं भन्ने कुरा स्पष्ट पारेको छ । त्यसैले यस्तो प्रतिकूल अवस्थामा सर्वसाधारण आफैंले सावधानी अपनाउन अत्यन्तै जरुरी रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषणको मापन गर्दा प्रदूषणको स्तरलाई विभिन्न ६ तहमा विभाजन गरिएको छ । यसरी मापन गर्दा इन्डेक्स अक्वा १ सय ५० देखि २ सय अङ्क रहेको अवस्थालाई अस्वस्थकर मानिन्छ, जसलाई रातो रंग दिइएको छ । रातो रंग खतराको हिसाबले चौथो तहमा पर्छ । त्यसैगरी अक्वा २ सयदेखि ३ सय अङ्कसम्मलाई बैजनी रंग दिइएको छ, जुन खतराको हिसाबले पाँचौं तह हो भने यसलाई अत्यन्तै अस्वस्थकर स्तर मानिन्छ । त्यस्तै अक्वा ३ सय अङ्कभन्दा माथिको अवस्थालाई खैरो रंग दिइएको छ, जुन तहलाई सबैभन्दा घातक स्तर मानिन्छ । यसरी उपत्यकाको वायु प्रदूषण प्रदूषण स्तर मापन वर्गीकरणका हिसाबले घातक स्तरमा रहेको छ ।
विगतमा भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक मात्रामा वायु प्रदूषण हुँदा भारत सरलारले जनस्वास्थ्य संकटकाल घोषणा गर्नुका साथै त्यसको असर न्यूनीकरणका लागि विविध कार्यक्रमहरू ल्याइएको थियो । तर अपसोच, अहिलेको अवस्थामा हाम्रो देशमा यसरी अत्यधिक वायु प्रदूषण हुँदा पनि सरकारले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि केही कदमसमेत उठाएको छैन । यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । गत वर्ष सरकारले काठमाडौं उपत्यकाका लागि वायु प्रदूषण गुणस्तर पारित गतेको थियो, जसमा वायु प्रदूषणको तह ३ सय एक्यूआई नाघेपछि आपत्काल घोषणा गर्ने प्रावधान छ । तर, अहिले सरकारी कार्ययोजनामा उल्लेख भएभन्दा एक्यूवाई झन्डै १ सय ५० अङ्कले बढी हुँदासमेत सरकारले कुनै चासो देखाएको छैन । यस्तो गम्भीर विषयमा सरकार यो हदसम्म उदासीन हुनु एकदमै दुःखलाग्दो कुरा हो । यसतर्फ सरकारको ध्यान जान अत्यन्तै जरुरी छ ।
— सुजन पौडेल

प्रतिक्रिया दिनुहोस्