पाम आयल निकासी : कच्चा पदार्थ आयातको दोधारमा «

पाम आयल निकासी : कच्चा पदार्थ आयातको दोधारमा

व्यापारिक फाइदाका लागि पाम तेल तेस्रो देशबाट आयात गरी फेरि त्यसैलाई प्रशोधन गरी भारत निर्यात गर्ने क्रम बढ्दै गएको थियो । पाम भन्ने रूखबाट उत्पादन हुने वनस्पति तेलको कच्चा पदार्थ भारतमा अन्य देशहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । नेपालमा अन्य देशबाट आयात गर्दा गुणस्तरका आधारमा ५ देखि ७ प्रतिशतसम्म भन्सार लाग्छ । अन्य देशबाट नेपाल आयात गर्दा थोरै भन्सार लाग्ने र फेरि भारत निर्यात गर्दा भन्सार महसुल नलाग्ने गरेकाले व्यापारीहरूले बनाई प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका थिए, तर एकाएक २०७७-७८ मा कम भयो ।
नेपालको निर्यात बढ्ने मुख्य भूमिका पाम तेलले निर्वाह गर्दै थियो । २०७७ पुस–माघमा एक वर्षअगाडिजस्तै नेपाली पाम आयलको भारतमा आयात बन्द गरियो र अद्यापि यो दोधारमा छ । त्यो बेला भारतले आयातमा प्रतिबन्ध लगाएपछि आयात खुलाउन सरकारले कूटनीतिक पहल गरेको थियो । पाम आयालमा ३७ प्रतिशत भ्यालु एड गरेर भारतमा पाम आयाल निकासी हुँदै आएको थियो । देशभर १८ वटा पाम तेलका उद्योगका एकाइले विदेशबाट पाम आयल आयात गरेर भ्यालु एड गरेर निर्यात गर्दै आएका थिए, अझ पनि छन् भन्ने विश्वास छ । २०७६-७७ को कात्तिकसम्म यसको निर्यात २३ प्रतिशतले बढेको थियो । २०७६-७७ मा त यो नेपालको पहिलो नम्बरको निकासी वस्तु बन्यो, तर २०७७-७८ मा धागो नेपालको पहिलो नम्बरको निकासी वस्तु हुने जस्तो देखिएको छ ।
आ.व. २०७६-७७ को पछिल्लो महिना नेपालबाट निर्यातमा पहिलो नम्बरमा आएको पाम तेललाई भारतले भारत आयातमा रोक लगाएपछि सरकारले त्यो खोल्न वार्ता भएको थियो । आ.व. २०७६-७७ बजेटबाट सरकारले निर्यात प्रवद्र्धनमा थप सुविधा दिएपछि पाम तेलको निर्यातमा पहिलो नम्बरमा दरिएको थियो ।
भारतले नेपालबाट २०७६ माघको अन्तिम सातादेखि नेपालको प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएको थियो । भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल लैजान र ल्याउन अनुमति दिएको थियो । २०७६ माघको एक महिनाअगाडिदेखि अर्थात पुस २०७६ देखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुला गरिएको थियो । तर, भारतीय आधा दर्जनजति आयातकर्ताले नै पहिले नै अनुुमति लिएकाले यस्तो आयात गर्न दिइएको बुझिएको छ । पछि के हुन्छ वा हाल के छ बुझिएको छैन । २०७६-७७ मा नेपालको कूल निर्यातमा यसको २५ प्रतिशत अंश भएको देखिन्छ । नेपाली उद्योगीले मलेसिया र इन्डोनेसियाबाट कच्चा पदार्थ अर्थात् कच्चा पाम आयल भिœयाएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर भारतले मलेसियाबाट हुने प्रशोधित कच्चा पाम आयातलाई लक्षित गरी लगाएको प्रतिबन्धका कारण नेपाली उद्योगसमेत प्रभावित भएका थिए । करिब १ लाख टन पाम आयल नेपालमा आयात भएर थन्किएपछि भारतले प्रशोधित पाम आयल आयात गर्न नमानेपछि त्यो आयातित प्रशोधन पाम आयल व्यवस्थापन गर्न अन्योल परेको थियो । नेपालको प्रशोधित पाम आयल आ.व. २०७६÷७७ मा नेपालको पहिलो निकासी वस्तु भएको थियो ।
आ.व. २०७६-७७ को पहिलो महिनामा रु. १ अर्ब ७५ करोडको पाम तेल निर्यात भएको थियो । निर्यात बढ्दै जाँदा २०७६-७७ को पाँच महिनामा रु. ११ अर्ब ५४ करोडको भएको थियो । आ.व. २०७५-७६ मा पाम तेलको नेपालबाट निकासी रु. १० अर्ब ३३ करोडको भएको थियो । आ.व. २०७६-७७ को पहिलो पाँच महिनामा रु. ९.९४ अर्बको कच्चा पाम तेल आयात गरी रु. ११.५ अर्बको प्रशोधित तेल निकासी गरिएको थियो । आ.व. २०७५-७६ को तुलनामा २०७६-७७ मा उक्त पाँच महिनामा आठ गुणाले निकासी बढेको भनिएको छ ।
बेलाबेलामा विगतमा नेपालको मुसुरो, केराउ, सुपारी र अरू वस्तुहरूका निकासीमा भारतले अवरोध गर्दै आएको देखिन्छ । नेपालबाट पाम तेलको निकासी नेपालको निकासीमा अविश्वासिलो वस्तुका रूपमा भविष्यमा चित्रित हुने सावित भइसक्यो । सन् २०१३ मा अरू देशको सुपारी नेपालको भनी निकासी गरेकोमा नेपालबाट भारतमा भारतले नेपालको सुपारी निकासी बन्द गरेपछि झापाको सुपारी उद्योग ध्वस्त भएको थियो । वास्तविकता बाहिर आउन कठिन भयो ।
तेस्रो देशबाट कच्चा पदार्थ आयात गरी नेपालमा नाममात्रको भ्यालु थप गरी नेपालबाट भारतमा निकासी गरिने परम्परा कम भन्सार शुल्कका उपज हुन् । यस्तो उदाहरण पाम आयलमा भइरहेको थियो । हाल आकाशबाट एक्कासि खसेको जस्तो भयो ।
विगतमा तेस्रो देशबाट एक टन सुपारी आयात गरी नगण्य मात्रामा मूल्य अभिवृद्धि गरी भारतमा निकासी गर्र्दा रु. १० लाखभन्दा बढीको नाफा नाफाखोरहरूले भन्सार दर फरकले सहज रूपमा कमाएको देखियो ।
आर्थिक वर्ष २०७६÷७७ मा पाम आयल र भटमासको तेलको निर्यात उत्साहजनक देखिएको थियो । यी वस्तुको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २४.२ प्रतिशत र ६.५ प्रतिशत रहेको थियो । कच्चा पाम तेलको आयातमा २०३.४ प्रतिशतले वृद्धि भई ९ अर्ब ९५ करोड पुगेको थियो । कच्चा भटमासको तेलको आयातमा २३.१ प्रतिशतले वृद्धि भइ रु. ६ अर्ब ६२ करोड रहेको थियो ।
आ.व. २०७६÷७७ मा नेपालबाट पाम तेल रु. १८.३ अर्बको निकासी भएको थियो भने २०७५-७६ मा रु. १०.३ अर्बको पाम तेल निकासी भएको थियो । २०७७-७८ को पुससम्ममा रु. १७.०३ अर्बका पाम आयल नेपालबाट निकासी भएको थियो । पाम आयलको निकासी बढ्दो अवस्थामा भए पनि २०७७-७८ मा एक्कासि कम भयो । आ.व. २०७७-७८ मा नेपालबाट पाम आयल कत्तिको हुन्छ भन्न कठिन छ ।
आर्थिक वर्ष २०७४-७५ मा रु. ५ अर्ब ३४ करोड, २०७३÷७४ मा रु. ६ अर्ब ७ करोड २०७२-७३ मा ९ करोड रुपैयाँको कच्चा पदार्थ आयात भएको थियो । तर प्रशोधित पाम आयल निर्यात हुन सकेन । त्यो वर्ष रोक लगाएपछि पाम तेलको निकासी व्यापार फेरि घट्ने स्थिति बन्यो । त्यो बेला भारतले आन्तरिक कारणले सूचित आदेशबाट आायात रोकिएको थियो । यस्तो आयात प्रतिबन्ध नेपालसहित अरू देशलाई पनि गरिएकोे बताइन्छ । भनिन्छ कि नेपालको भारतसँगको राजनीतिक सम्बन्धका कारण पाम आयल त्यो बेला निकासीमा रोक लगाइएको थियो ।
अप्रत्यक्ष रूपमा भारतले मलेसियाली कच्चा पाम तेललाई कठिन बनाउन नेपालबाट भारत जाने प्रशोधित पाम तेललाई भारत आयातमा भारतले रोक लगाएको बताइन्छ । नेपालमा मलेसियाली तेल आयात भएर भारत निर्यात भएकाले नेपालमा पनि भारतले नेपालको प्रशोधित पाम तेल रोकिएको बताइन्छ । यसअघि नेपाली वनस्पति घिउको भारतमा आयात मागको हकमा यस्तै अवस्था आएको थियो । नेपाली वनस्पति घिउको माग व्यापार ह्वात्तै बढेपछि भारतले नेपालका लागि कोटा लगाएको थियो । पाम तेलमा पनि दुई देशबीच भन्सार फरकको फाइदा लिन भारतमा नेपालकोे प्रशोधित पाम तेल भारतमा आयातमा रोक लगाइएको बुझिएको थियो । निर्यात रोकिएपछि राजस्वमा असर परेको देखिए पनि स्वदेशी उत्पादन कच्चा पाम आयल नभएकाले नेपालबाट पाम तेल दिगो निकासी अप्ठ्यारो भयो ।
पाम तेलको दिगो निकास वृद्धिका लागि गुणस्तरीय स्वदेशी उत्पादनको वृद्धि र उद्योग उत्पादन क्षमतामा विस्तार हुनु आवश्यक रहेकाले सरकार यस्ता निकासी वस्तुमा लाग्न नहुने बताइन्छ । नेपालको स्थानीय रैथाने उत्पादित वस्तु पाम तेल भने होइन । रैथाने नेपालमा भएका कच्चा पदार्थमा निकासी वस्तु उत्पादन गरेमा निकासी दिगो हुन्छ । नेपालका रैथाने कच्चा पदार्थका वस्तुहरूमा ऊन, ढाका कपडा, छाला, जडीबुटी आदि आदि कति छन् भनेर साध्य छैन ।
नेपालको समग्र निर्यातमा सुधार राम्रो देखिए पनि आयातित कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गर्दा चित्त बुझ्ने अवस्था हँुदैन । भारतको नीतिका कारण केही फाइदा देखिए पनि फेरबदलले देशलाई कुनै दिन नोक्सान हुने हुन्छ । निर्यात बढे पनि स्वदेशी उद्योगका क्षमता बढेको देखिँदैन । भन्सार महसुलको अन्तरले पाम तेल निर्यातमा केही फाइदा हुने देखिन्छ । दिगो निर्यात वृद्धिका लागि गुणस्तरीय स्वदेशी वस्तुका उत्पादन वृद्धि, उद्योग उत्पादन क्षमतामा विस्तार हुन जरुरी देखिन्छ ।
देशको दिगो निकासी विकासका लागि आन्तरिक वा स्वदेशमा उत्पादित वस्तु नै कच्चा पदार्थका रूपमा प्रयोग गरिनुपर्छ । पाम आयल नेपालमा उत्पादित नभई विदेशबाट कच्चा पदार्थका रूपमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुने गरी नेपालबाट निकासी पहिलो नम्बरमा हुनु आश्चर्यजनक छ । सार्कमा साफ्टाअन्तर्गत नेपालको भारतमा निकासी गर्नुपर्दा कम्तीमा भारतको नेपालबाट निकासी गर्दा नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्छ । जिरो दरको भन्सार प्राप्त हुन ३० प्रतिशतको मूल्य अभिवृद्धिले पुग्दैन । दक्षिण एसियाका क्षेत्र बाहिर पाम आयलमा ५४ प्रतिशतको भन्सार दर र भटमासको तेलमा ४५ प्रतिशतको भन्सार दरले गर्दा नेपालको पाम आयल भारतमा निकासी बढ्न गएको थियो । नेपाल र भारतको प्रिफेरेन्सिल व्यवहारले गर्दा नेपालको पाम आयल भारतमा निकासी भएर गएको बताइन्छ । तर नेपालको भारततर्फको पाम तेल निकासी शून्यको स्थिति आ.व. २०१८-१९ अर्थात् २०७५-७६ बाट सन् २०१९-२० (२०७६-७७) मा १०.३ अर्बको निकासी भएकोमा आश्चर्यजनक मानिएको छ । २०७७-७८ मा पाम तेलको निकासीले कस्तो मोड लेला ।

प्रतिक्रिया दिनुहोस्