पर्यटनको वित्तीय खर्च एक प्रतिशतमात्र «

पर्यटनको वित्तीय खर्च एक प्रतिशतमात्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोश्रो चौमासिकसम्म चालू र पुँजीगत खर्च ५० प्रतिशत गरेको छ भने वित्तीय खर्च एक प्रतिशतमात्र भएको छ ।
मन्त्रालयले पुँजीगत र चालू खर्चको लागि विनियोजन भएको ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँमध्ये २ अर्ब ४५ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले चालू खर्चमा ३ अर्ब ७५ करोड ८१ लाख, पुँजीगत १ अर्ब ९० करोड ८५ लाख र वित्तीयतर्फ २० अर्ब ४५ करोड ६५ लाख गरी कुल २६ अर्ब १२ करोड ३१ लाख बजेट विनियोजन गरेको थियो । वित्तीयको लागि विनियोजन भएको २० अर्ब ४५ करोडमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्म २१ करोड ३२ लाखमात्र खर्च भएको छ ।
मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगति औसतमा क्रमशः ६४ प्रतिशत र ४८ प्रतिशत भएको छ । दोस्रो चौमासिकसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र लुिम्बनी विकास कोष र पशुपति क्षेत्र विकास कोषको प्रगति भौतिकमा ६४ र वित्तीयतर्फ ४८ प्रतिशत भएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तीय प्रगति क्रमशः पोखरा विमानस्थलको ७२÷५०, गौतमबुद्ध विमानस्थलको ९५÷७१, निजगढ विमानस्थलको ६÷६, लुम्बिनीको ८५÷७५ तथा पशुपति विकास कोषको ६५÷४० प्रतिशत छ ।
विमानस्थल निर्माण तथा स्तरोन्नति अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा रुपान्तरण गर्ने काम भइरहेको छ । आन्तरिक टर्मिनल भवनको रिनोभेसन कार्य ९६ प्रतिशत सम्पन्न भएको बताइएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको रिनोभेसन कार्य ७५ प्रतिशत सम्पन्न भई क्यानोपी निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ ।
विमानस्थल निर्माणमा ढुंगा, गिट्टी, बालुवा, माटोलगायत निर्माण सामग्री उपलब्ध नहुुँदा ढिलाइ भएको, निर्माण कम्पनीहरुबीचको विवाद, निर्माण व्यवसायीको क्यास फ्लोकोे समस्या, कोभिड–१९का कारण विदेशी दक्ष प्राविधिकहरु ल्याउन नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि २६ अर्ब १ करोड ७ लाख रुपैयाँको बजेट सिलिङ पाएको छ । पशुपति क्षेत्र विकास कोषका लागि ३५ करोड, लुम्बिनी विकास कोषका लागि १ अर्ब, दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास आयोजनाका लागि ३ अर्ब ५३ करोड, पोखरा विमानस्थललाई ८ अर्ब ५० करोड र निजगढ विमानस्थललाई ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेर सिलिङ तोकिएको छ ।
चालू आर्थिक वर्षमा उल्लेखित आयोजनाहरुलाई २६ अर्ब १२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । मन्त्रालयको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा अनुसार समष्टिगत भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ५०.२७ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्