कांग्रेस नेता जोशीको निधनमा देशभर श्रद्धाञ्जली सभा

नेपाली कांग्रेसले बुधबार पार्टीका नेता नवीन्द्रराज जोशीको निधनमा ७७ वटै जिल्लामा श्रद्धाञ्जली सभा गरेको छ । सभामा कांग्रेसका शीर्ष नेताहरुले पार्टीका नेता एवं पूर्वमन्त्री जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।
कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै देउवाले स्व. जोशी भविष्यमा पार्टी हाँक्न सक्ने नेता भएको बताए ।
“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो । केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उनले भने । आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको देउवाको भनाइ थियो । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताए । लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किने बताए ।
त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय जोशीले नेविसंघको मुभमेन्टदेखि अहिलेसम्म खेलेको भूमिकालाई कसैले भूल्न नसक्ने बताए ।