सक्षम बौद्धिक नेतृत्वको आवश्यकता «

सक्षम बौद्धिक नेतृत्वको आवश्यकता

बुद्धिजीवीहरू समान हुँदैनन् । कोही प्रगतिशील विचारधाराका हुन्छन् भने कोही प्रगतिविरोधी । त्यसैले उनीहरू कुन पक्षमा छन् भन्ने कुरा महŒवपूर्ण छ ।
वस्तुतः आधुनिक नेपालको बौद्धिक द्वन्द्व प्रजातन्त्रको थालनीसँगै सुरु भयो । तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र योगी नरहरि नाथलाई नेपालको प्रतिनिधि बुद्धिजीवीहरू रूपमा अङ्गीकार गर्न सकिन्छ । विशेषतः दुवैका प्रकाशित पुस्तक, लेख र विचारका आधारमा फरक–फरक अडान थिए । तर, दुवै जना नेपालको हितमा थिए ।
कोइरालाले नेपालको विकासका लागि बौद्धिक, लोकतान्त्रिक र प्रगतिशील रूपमा समाधान खोजे भने योगीले बहुदलीय लोकतन्त्रविरुद्ध परम्परागत समाधानको बाटो खोजे । वास्तवमा योगीले कोइरालाको विचारलाई धमिल्याउन निकै परिश्रम गरे र केही हदसम्म सफल पनि भए ।
कोइराला र योगीको समयदेखि हालसम्म पनि नेपालमा राजनीतिक अस्थिरता विद्यमान छ । यहाँ आन्तरिक तथा बाह्य समस्याहरू धेरै भए पनि सही बौद्धिक समाधानको आभाव छ । त्यसैले नेपालको वर्तमान समयमा यहाँको बौद्धिक वर्ग नै छलफलको विषय हुन आवश्यक छ । खासगरी यहाँ अन्तर्राष्ट्रिय कानुन, राजनीति र कूटनीति क्षेत्रका बौद्धिक वर्गको धेरै खाँचो छ ।
वास्तवमा जहाँ ज्ञानविरोधी नेतृत्व सत्तामा हुन्छ त्यहाँ अन्धकार हुन्छ र त्यस्ता नेतृत्वका नेताहरूले ज्ञानविरोधी अभिव्यक्ति दिन्छन् । जहाँ सत्तामा बौद्धिक नेतृत्व छ, त्यहाँ कुनै पनि समस्या समाधानका उपायहरू पहिल्याउन सहज हुन्छ । स्पष्टीकरणका लागि नेपाल र चीनको सीमा निर्धारण गर्दा अन्तर्राष्ट्रिय कानुन, राजनीति र कूटनीतिको बौद्धिक रूपमा प्रयोग गरिएको थियो ।
नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चिनियाँ नेता माओलाई राजनीति र कूटनीतिका कुशल राजनीतिज्ञ मान्न सकिन्छ । यथार्थतः नेपालको उदारवादी नेता कोइरालाले चीनको तत्कालीन कम्युनिस्ट पार्टीका शक्तिशाली नेतासँग वार्ता गरेर सीमा सम्झौता गर्नु सजिलो काम थिएन । यसलाई एक ऐतिहासिक उदाहरणका रूपमा लिन सकिन्छ ।
वर्तमान नेपालमा बौद्धिक इमान्दारिता र विचारको खाँचो छ । साधारणतया यहाँको राजनीतिक, कूटनीतिक र कानुनी क्षेत्रमा दुई किसिमका बौद्धिक वर्ग छन् । पहिलो वर्गका बुद्धिजीवीहरूले नेपालको सुरक्षाको सट्टा चीनको सुरक्षामा चासो राख्छन् भने अर्काले भारतको सुरक्षामा ।
नेपालमा उदारवादी र वामपन्थी विचारका बुद्धिजीवीहरू आत्माआलोचनामा चासो देखाउँदैनन् । केही वामपन्थी बुद्धिजीवीहरू आवश्यकताअनुसार कहिले धार्मिक र कहिले धर्म निरपेक्ष हुने गर्छन् । अझै अर्को समूहका बुद्धिजीवीहरू पनि छन्, जसले जातिवाद र मानवशास्त्रबीचमा स्पष्ट भिन्नता देख्दैनन् । उनीहरूमध्ये धेरैले धर्म र संस्कृतिबीच फरक छुट्ट्याउन सक्दैनन् र पहिचान तथा प्रतिनिधित्वको बारेमा असफल छलफल गर्छन् ।
नेपालको रूढिवादी बुद्धिजीवीहरूले जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन् । वास्तवमा एक्काइसौं शताब्दीमा योभन्दा अमानवीय विचार अरू हुन सक्दैन ।
एक अर्को प्रकारका बुद्धिजीवीहरू पनि छन्, जो एक–अर्कालाई लडाई आनन्द लिन चाहन्छन् । यसको उदाहरण गोर्खाविरुद्ध मधेस हो ।
नेपालमा अर्का थरी बुद्धिजीवीहरू पनि छन् जसले वर्तमान युगलाई वैश्य युग भनी नश्लवादलाई प्रोत्साहन गर्दै नेपाली समाजका विभिन्न समुदायको अपमान गर्छन् । वास्तवमा परम्परावादी बुद्धिजीवीहरूले ऐतिहासिक अन्यायलाई स्वीकार गर्दैनन् ।
नेपालको वर्तमान संविधानले नागरिकहरूलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको प्रस्ट छ । यो संविधानको आधारभूत सिद्धान्तविपरीत छ । यो बौद्धिक वर्गको ठूलो अज्ञानता हो । किनभने जातीय आधारमा मानवलाई वर्गीकृत गर्नु कुप्रथालाई फेरि जीवित गर्नु जस्तै हो ।
यथार्थतः एक सभ्य र दिगो समाज निर्माणका लागि बुद्धिजीवीहरूको व्यक्तिगत र सामूहिक ज्ञान, कौशल, दृष्टिकोण, इमानदारिता आदि विस्तृत छलफलको विषय हुनुपर्छ । केही अपवादबाहेक धेरैजसो बुद्धिजीवीहरू शान्तिको नजिक पुग्न इच्छुक देखिन्छन्, जुन हालसम्म पनि विश्वव्यापी समस्या भएको छ ।
विश्व परिस्थितिको उतारचढावहरूसँगै नेपालले आफ्नो पक्षमा कसरी अनुकूल परिस्थिति िसर्जना गर्ने भन्ने विषयमा खास छलफल भएको छैन । कम्युनिस्ट बुद्धिजीवीहरू समाजवादको सपनासँग बाँचिरहेका छन् भने गैरकम्युनिस्टहरू उदार अर्थतन्त्रको सपनासँग बाँचिरहेका छन् ।
नेपाली बुद्धिजीवीहरू चिनियाँ र भारतीय परियोजनाहरूको पक्ष र विपक्षमा वकालत गर्छन् । तर, उनीहरू यहाँको हित हुने कुरामा गम्भीर छलफल गर्दैनन् । त्यसैले हालसम्म पनि उनीहरूबाट यहाँको हितका लागि ठोस योगदान पुग्न सकेको छैन ।
वर्तमान समयमा नेपाल नाजुक स्थितिमा छ, किनभने यहाँको परम्परागत संरचना भत्किएको छ । तर, नयाँ प्रणाली अझैसम्म पनि पूर्ण रूपमा स्थापना गरिएको छैन । यस्तो संकटको समयमा बुद्धिजीवीहरूको भूमिका महŒवपूर्ण हुन्छ र हुनुपर्छ पनि, किनभने यहाँको परिवर्तन र चुनौतीको सामना गर्न उनीहरूका विचारको धेरै आवश्यकता पर्छ ।
यसै सन्दर्भमा नेपालका कानुनविद्, कूटनीतिज्ञ र राजनीतिमा संलग्न नेतृत्ववर्गले अपेक्षित सामूहिक काम गरिरहेका छन् वा छैनन्, यदि छैनन् भने कसले तिनीहरूलाई रोकिरहेको छ ? आदि कुराहरूमा लेखाजोखा गर्न नितान्त आवश्यक छ । विशेषतः यहाँको आन्तरिक एकता, सामाजिक न्यायका साथै चीन, भारत र लिम्पियाधुरामा मारतीय सैन्य उपस्थिति तथा अन्य वैदेशिक मामलाहरूमा बुद्धिजीवीहरूको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । यसो गर्न सकेमा मात्र उनीहरूको ठोस योगदान देखिनेछ र देशको पनि भलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्