बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बसेको बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको मनोभावना समेटिने ढंगले जात्रा सञ्चालन गर्नुपर्नेमा जोड दिए । छिमेकी देश भारतमा कोभिड–१९ को नयाँ प्रजातिले महामारीको रुप लिएको र केही स्थानमा कफ्र्युसमेत लगाइसकेको अवस्थामा नेपाल–भारतबीचको खुला सीमाका कारण नेपालमा पनि संक्रमण दर बढ्न सक्नेतर्फ सबैजना सचेत रहनुपर्ने उनले बताए ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले विगतका दिनदेखि नै भक्तपुर नपाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताए ।
बैठकमा भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको भैरवनाथको रथ तान्ने जात्रा र लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको स्वीकार्दै जनभावनाअनुरुप नगरपालिकाले गर्ने निर्णयमा आफू सकारात्मक रहेको बताए ।
बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरोकारवालाको बैठक बसेको थियो ।