‘झिङ्गे टसाई सोचबाट मुक्त हुनुहोस्’ «

‘झिङ्गे टसाई सोचबाट मुक्त हुनुहोस्’

उपप्रधानमन्त्री इश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविद पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताए । समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले दाबी गरे । त्यसैले निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको बताए । उनले भने, “अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुनसकेको छैन । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।”
कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनले बताए । उनले भने, “कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहँुदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारण छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जीर्ण बनाउँदै लगेका छन् भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐजरुहरू कर्मचारीतन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।”
म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारीतन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकपृय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।
कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलिद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए । कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्रशासनको मुख्य चुनौती भएको पनि उनले बताए । उनले भने, “निजामती सेवाप्रति आमधारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो । अनुशासित, मर्यादित रूपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढंगले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । कर्मचारीतन्त्रप्रतिको नकारात्मक दृष्टिकोण हामीले बदल्नै पर्छ । यो हाम्रो साझा चुनौती हो । हामी त्यसमा लाग्नै पर्छ । निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ, हामी सबैले भन्दै आएको मान्यता हो । यो सेवालाई भ्रष्टाचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।”

प्रतिक्रिया दिनुहोस्