Logo

भक्तपुर नगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक ऋण प्रदान

भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका १ सय १९ जना जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सहुलियत ब्याजदरमा बुधबार शैक्षिक ऋण वितरण प्रदान गर्न सम्झौता सुरु गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा शैक्षिक ऋणको लागि आवेदन परेकामध्ये अन्तवार्ताबाट छनोट भएका विद्यार्थीहरूलाई शैक्षिक ऋण वितरण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवम् अभिभावकहरुलाई आग्रह गरे । भक्तपुर नपाले शैक्षिक विकासका लागि गरेको प्रयासबारे विद्यार्थीहरूलाई अवगत गराउँदै भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास हुन सफल भएकोमा नपाले सञ्चालन गरेका कलेजहरू र यहाँका शैक्षिक संस्थाहरूको ठूलो भूमिका र योगदान रहेको बताए ।
उनले आर्थिक कारणले गर्दा कोही पनि पढाइबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा अगाडि सारेको बताए । उनले आफ्नो विषयमा दक्षता हासिल गरी देश र समाजको सेवाको लागि काम गर्न पनि आग्रह गरे ।
नागरिकको आधारभूत आवश्यकताभित्र पर्ने शिक्षा र स्वास्थ्य निकै महगिँदै गएको वर्तमान अवस्थामा नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक ऋण, छात्रवृत्तिलगायत प्रदान गर्दै आउको बताए । उनले नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीहरूमा निकै प्रतिस्पर्धा हुने गरेको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा पाँच लाखसम्मको रकम वितरण कार्य अरु स्थानीय तहको लागि सिक्न योग्य भएको बताए । उनले नगरपालिकाको कदमले देशको सेवामा समर्पित सभ्य, सुसंस्कृत र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्