नेपाली हवाई उड्ययनमा लगाएको प्रतिबन्ध हटाउन आग्रह
नेपाल उद्योग परिसंघले नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । परिसंघका पदाधिकारीले नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजसँग भएको छलफलका क्रममा नोली हवाइ उड्डयनमा लगाएको प्रतिवन्धका कारण युरोपबाट नेपालमा पर्यटक ल्याउन नसकेको बताएको हो । परिसंघले आगामी दिनमा युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै उनले हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिबन्ध हटाउनु पर्ने धारणा राखे । अध्यक्ष सतिशकुमार मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सुरक्षामा विशेष ध्यान पु¥याइ रहेकाले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरे ।
अध्यक्ष मोरले उपभोग बढ्दै गएपनि स्वदेशमा उत्पादन नभएकाले व्यापार घाटा बढ्दै गएको बताए । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी”अभियानलाई अगाडी बढाएको उनले बताए ।
उनले त्यसैगरी भारतसँग भएको व्यापार सम्झौताअनुसार शुल्कमुक्त निर्यात भइरहेकाले युरोपमा पनि निर्यात बढाउनेतर्फ सहयोग पु¥याउन राजदूत डेप्रेजलाई अनुरोध गरे । सीप विकासबाटनै उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले प्राविधिक सीप विकासमा सहयोग पु¥याउन उनले आग्रह गरे ।
परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकाले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्ने तर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताए । नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सीमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताए ।
परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकाले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ परिसंघ अगाडी बढेको बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चको रुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गरे ।
त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सीप विकासको लागि सहयोग गर्न अनुरोध गरे । युरोपियन लगानीमा रहेको इआइडिसी पूर्वाधार विकासमा केन्द्रित भएकाले त्यसमार्फत नेपालमा लगानी बढाउन अनुरोध गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सीप विकास गर्नको लागि निजी क्षेत्रको सहभागितामा श्रम बजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडी बढाइरहेको बताए । राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पु¥याउन इच्छुक रहेको बताइन् ।