भ्वाइस सेवाको आम्दानी इन्टरनेटको भन्दा तेब्बर «

भ्वाइस सेवाको आम्दानी इन्टरनेटको भन्दा तेब्बर

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले आर्थिक वर्ष ०७६÷७७ मा इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी गरेको छ । कम्पनीले इन्टरनेट सेवाबाट ८ अर्ब २१ करोड आम्दानी गरेकोमा भ्वाइस सेवाबाट भने २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले डेटा सेवालाई आफ्नो आयको मुख्य स्रोत बनाउने भने पनि अझ केही वर्ष भ्वाइस सेवाले ‘लिड’ गर्ने देखिएको छ ।
कम्पनीको आव ०७६-७७ को वार्षिक प्रतिवेदन अनुसार कुल ४२ अर्ब ९९ करोड आम्दानी गरेकोमा ९ अर्ब ७५ करोड नाफा गरेको थियो । भ्वाइस सेवातर्फ २ करोड ग्राहक छन, जसमध्ये मोबाइल सेवाका ग्राहक १ करोड ९३ लाख हुन् । यो समग्र दूरसञ्चार बजारको ५२.६९ प्रतिशत बजार हिस्सा हो । कम्पनीका इन्टरनेट सेवाका ग्राहक डेढ करोड नाघेका छन् । इन्टरनेट सेवातर्फ कम्पनीको बजारहिस्सा ४८.६८ प्रतिशत हो । गत वर्षमा इन्टरनेट सेवाको ग्राहक वृद्धि ९.९३ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी ६४.९९ रुपैयाँ गर्न सकेको कम्पनीले गत वर्ष प्रतिसेयर ४० का दरले नगद लाभांश दिएको छ । पछिल्ला आधा दशकमा कम्पनीले सेयरधनीलाई दिने लाभांश दर भने निरन्तर घट्दै गएको छ । प्रतिवेदन अनुसार सरकारी राजस्वमा गत वर्ष कम्पनीले ३५ अर्ब ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।
टेलिकमले आफ्नो आय बढाउनका लागि चालू वर्षमा वायरलेस सेवा प्रयोग गर्ने ग्राहकलाई नयाँ प्रविधि फाइबर टु दी होम (एफटीटीएच) विस्तारलाई जोड दिएको छ । टुजी थ्रिजी, फोरजी तथा एलटीई सेवाको गुणस्तर वृद्धि गर्न पूर्वाधार विस्तारमा जोड दिएको छ । विश्वव्यापी रूपमा फेज आउट हुँदै गएका प्रविधि सीडीएमए, वाईम्याक्सलाई हटाई फोरजी सेवा विस्तारमा जोड दिएको छ । व्याकबोन प्रसारणतर्फ अप्टिकल फाइबर नेटवर्क, एडीएसएस विस्तार, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएका ‘रिपिटर स्टेसन’मा सोलार जडान गर्ने काममा ध्यान दिएको छ । हिउँ पर्ने मौसमा हिमाली तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात तथा चिसोका कारण टेलिफोन नटवर्कमा समस्या हुँदै आएको छ । चालू वर्षदेखि यो समस्या न्यूनीकरण गर्नका लागि टेलिकमले सोलार जडानलाई तीव्रता दिएको छ । काठमाडौं तराई फास्ट ट्रयाकमा अप्टिकल फाइबर विस्तार, ब्याकवोन माइक्रोवेभ विस्तारजस्ता आयोजनालाई अगाडि बढाएको छ ।
कम्पनीले आफ्नो आम्दानी वृद्धिका लागि लगानी विविधीकरण पनि गरेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, त्रिशूली थ्रि बी जलविद्युत् आयोजना, विद्युत् उत्पादक कम्पनी लिमिटेड, नागरिक स्टक डिलर कम्पनी लिमिटेडमा कम्पनीको लगानी रहेको छ । पछिल्लो पटक कम्पनीले मोबाइल फाइनान्सियल सर्भिस नेपाल डिजिटल कम्पनी लिमिटेड (एनडीपीसी) मा समेत लगानी गरेको छ । डिजिटल पेमेन्ट कम्पनी टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त सहायक कम्पनीमा टेलिकमको ६२ प्रतिशत तथा बैंकको ३८ प्रतिशत लगानी रहेको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीका अनुसार राष्ट्र बैंकको निर्देशिका अनुसार टेलिकम आफैंले यस्तो कम्पनी सञ्चालन गर्न नपाउने तर सहायक कम्पनीका रूपमा भने सञ्चालन अनुमति दिइने व्यवस्थाअनुसार नयाँ कम्पनी खोलिएको हो । जसमा वित्तीय क्षेत्रको अनुभवसमेत आवश्यक पर्ने भएकाले टेलिकमले पूर्ण सरकारी स्वामित्व भएको तथा मुलुकभर ठूलो सञ्जाल भएकाले राष्ट्रिय वाणिज्य बैंकसँग साझेदारी गरेको हो । टेलिकमले अन्य भुक्तानी सेवा प्रदायकभन्दा फरक यूएसएसडी अर्थात् मोबाइलमा निश्चित अंक डायल गरी बिना इन्टरनेट भुक्तानी सेवा सञ्चालन गर्नेछ । मोबाइल एप्स, क्यूआर कोडलगायतका अन्य सेवा पनि यसमा रहनेछन् ।
दूरसञ्चार सेवा विश्वव्यापी रूपमा छिटो प्रविधिको परिवर्तन र ग्राहक अवसरका हिसाबले छनोटको सम्भावना भएको क्षेत्र हो । नेपालमा पनि टेलिकम र एनसेल तथा स्मार्ट टेलिकमले दूरसञ्चार सेवा दिएका छन् भने अन्य कम्पनीहरू कानुनी झमेलामा छन् । स्मार्ट टेलिकम पनि सरकारलाई तिर्नुपर्ने रोयल्टी बक्यौता तिर्न नसक्दा पछिल्लो समय समस्यामा छ ।

प्रतिक्रिया दिनुहोस्