५३ वर्षमा ढाका सिक्दै रनीमाया «

५३ वर्षमा ढाका सिक्दै रनीमाया

लालीगुराँस नगरपालिका, सोल्माकी रनीमाया नेपाली ५३ वर्ष भइन् । उमेरले डाँडा काटिसके पनि उनको जोस–जाँगर भने ज्यूँका त्यूँ नै छ ।
१४ वर्षको उमेरमा विवाह भयो उनको । हजारौं समस्यासँग पौंठेजोरी खेल्दै परिवार र समाजका लागि संघर्षशील महिला हुन् उनी । ७ सन्तानकी आमा नेपाली ४० वर्षको उमेरमा रोजगारीको सिलसिलामा साउदी पुगिन् ।
छोरीको विवाहमा लागेको रिन श्रीमान्ले आफैं तिर् भनेपछि केही उपाय नलागेकाले उनी वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य भइन् । साउदीमा रहँदा कमाएको पैसाले साहूको रिन तिरेर घर बनाइन् ।
“वैदेशिक रोजगारीबाट कमाएको पैसा घर बनाउँदा र रिन तिर्दै सकियो, हातमा कुनै सीप पनि छैन, सीप लिन तालिम केन्द्रमा तिर्ने पैसा पनि थिएन । “तर, गाउँमै निःशुल्क तालिम पाउँदा खुसी छु,” उनले भनिन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण दुई–चार पैसा आउने बाटो नभएपछि यतिबेला ढाका बुनाइ सीप लिँदै आएकी छिन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पाले गाउँमै ढाका बुनाइसम्बन्धी तालिम सञ्चालन गरेको तालिममा सीप लिँदै आएकी छिन् ।
उनीजस्तै ४० वर्षीया भीमकुमारी मगर पनि सोही तालिममा सहभागी बनेकी छिन् । घरको सानातिना समस्याहरू पनि श्रीमान्कै भर पर्नुपर्ने भएकाले पनि थोरबहुत आम्दानी भए पनि सीप सिकेको उनले बताइन् ।
नेपाली र मगरजस्तै धेरै महिलाहरू सीप लिँदै आएका छन् । घरकै बसेर परिवारसँगै रमाउँदै व्यवसाय सञ्चालन गर्न सकिने भएकाले पनि पछिल्लो समय महिलाहरूको रोजाइमा ढाका बुनाइ पर्न थालेको हो ।
तेह्रथुमे ढाका चर्चासँगै यहाँ उत्पादन भएको कपडा विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । ग्रामीण क्षेत्रका महिलाहरू अझ मेलापात, घाँसदाउरामा मात्रै अल्झिँदै आएका छन् ।
आर्थिक रूपमा विपन्न रहेका महिलाहरूलाई लक्षित गरी लालीगुराँस नगरपालिकाको सहयोगमा सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको नपरपालिकाका उपमेयर तिला पोखरेलले बताइन् ।
तालिममा महिलाहरू ढाका मखलर, चौबन्दी, कुर्ता सुरुवाल, पछ्यौरालगायतका सीप प्रदान गरिने प्रशिक्षक ललित लिम्बूले बताइन् । गरिबीका कारण सीप लिन नसक्ने महिलाहरूलाई सीप प्रदान गरी गरिबी निवारण गर्ने उद्देश्यका साथ तालिमहरू सञ्चालन गर्दै आएको लालिगुराँस नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक छत्र श्रेष्ठले बताए ।
उनका अनुसार नगरपालिकामा रहेका महिलाहरूलाई विभिन्न सीपमूलक तालिमहरूमा सहभागिता गराउँदै ल्याइएको छ । सीप लिएसँगै यहाँका महिलाहरूले आफूले उत्पादन गरेको वस्तुलाई बजारीकरणका लागि भने स्थानीय सरकारले सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन् ।
विपन्न महिलाहरूलाई लक्षित गरी सञ्चालन गरेको तालिमहरूले जीवन निर्वाहमा ठूलो सहयोग मिल्ने भएको छ । पछिल्लो समय ग्रामीणहरू गाउँगाउँमा व्यवसाय सञ्चालन गरी राम्रो आदाम्नी लिँदै आएका छन् । सीपलाई निरन्तरता दिने हो भने सफल उद्यमी बन्न सक्ने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्