रात्रि व्यवसायमा रोक ! «

रात्रि व्यवसायमा रोक !

सरकारले पछिल्लो समय कोभिड–१९का संक्रमित बढ्दै गएसँगै रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गर्न गराउन  आग्रह गरेको हो । मन्त्रालयले संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन मातहतका निकायलाई भनेको छ । त्यसैगरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । ठूला सहरहरुमा ५ सयभन्दा बढी र साना सहरमा सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि आग्ह गरिएको छ । विदेशबाट आउने नागरिकलाई पनि क्वारेन्टिनको पालनामा कडाइ गरिने भएको छ ।
मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले गर्दा शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन सूचनामा भनिएको छ । यस्तै बढी भीडभाड हुने र जोखिमपूर्ण स्थानहरु सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्र उच्च स्वास्थ्य सुरक्षा मापदण्ड र सावधानी अपनाएर मात्र सञ्चालन गर्न–गराउन मन्त्रालयले  मातहतका निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्