राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको «

राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आह्वान गरे ।
काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगतिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए । स्वर्गीय रिमालले आफ्ना रचनाहरूमा सधैं राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरू चुलिँदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताए । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन “सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको” भन्दै व्यंग्य गरे ।
उनले भने, “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरूको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर, सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । मंगलबार सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरू पनि छन् । तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उनले राजनीतिक क्षेत्रको विसंगति विकृतिका बारेमा कटाक्ष गरे । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरू प्रसस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू , विसंगतिहरू चुलिएका छन् । तर निरास हुनुहुँदैन । त्यसको विरुद्धमा उभिनुपर्छ ।”
ईश्वर पोख्रेल,उप्रधानमन्त्री, नेपाल सरकार
उनले राजनीतिक दलका अगुवाहरूमा विकसित हुदै गएको व्यक्ति केन्द्रित स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए । उनले राजनीतिक वृतमा अगुवाहरूमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे ।
उनले भने, “राजनीतिक अगुवाहरूले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौं, मैले पाइन, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ ।”
उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुःख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “आज पनि अनौठो कुरा के छ भने जनताबाट निर्वाचित भएको प्रधानमन्त्री, ती प्रधानमन्त्री बीचैमा हट्नुपर्छ भनेर बीचैमा धक्का मारेर हटाउन खोजिन्छ । गरेको के हो यो ? के हो त भन्दा म हुनुपर्यो । म हुन पाईनँ । लज्जाबोध हुन्छ । यो मनोरोगबाट ग्रस्त छौ हामी । राजनीतिक क्षेत्रमा देखा परेको विकृति विसंगति झांगिएर यसरी देखा परेको छ । यसको विरुद्धमा हामीहरूको खबरदारी जरुरी छ । ”

स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफू सानैदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दे उनले अझै पनि आफूले जीवनलाई बुझिनसकेको बताए । उहाँले जीवनको रंग हरियो निलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताए ।
उनले भने, “म कम्युनिष्ट पार्टीमा लागेको कति बुझेर कति नबुझेर । सानै उमेरमा हो ।मैले रिमालजीका तिनै केही कविताहरू, रिमालले लेख्नुभएका कतिपय क्रान्तिकारी भाव झल्किने कुराहरूले मलाई छोएको हो । सुरुमा म कम्युनिष्ट पार्टीमा लाग्दा सम्पूर्ण रूपमा घर छोडेर हिँड्दा २१ बर्वाको पुगेर २२ वर्ष लागेको थिएँ । वास्तवमा त्यो भावनाको पक्ष हो । त्यो प्रवल थियो । सारको कुरा त्यत्ति थिएन । अहिले म बुझ्छु । त्यसबेलादेखि म यसमै लागिरहेको छु तर यसमा लाग्दाखेरी यो जीवनको रंग त हरियो हुनुपर्ने, निलो हुनुपर्ने, खैरो खैरै भएर चलिरहेछ । त्यसकारणले मैले वास्तवमा जीवनलाई बुझ्नका लागि धेरै कुराहरू बाँकी छन् भन्ने म ठान्छु । ”
उनले स्वर्गीय रिमाललाई आफूले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रर्वतकको रुपमा चिनेको बताए । आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दे उहाँले रिमालको सामाजिक, शैक्षिक , साहित्यिक जागरणमा पुर्याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा स्वर्गीय रिमालकी पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्दप्रसाद दुलालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्