जितपुर सिमरा गोल्डकप चैत ३१ देखि
बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता २० गतेदेखी सुरु हुने भनिए पनि व्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो । तर हाल सबै तयारी करिब सकिएकाले चैत अन्तिमदेखी सुरु गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।
सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए । प्रतीयोगीता यसवर्ष साँझका समयमा सञ्चालन हुने छ । त्यसका लगि मैदानमा फ्लड लाइट जडान गरिएको उनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन् । पुरस्कार राशिमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । २०७५ माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले ६ लाख र उपविजेताले ३ लाख हजार प्राप्त गरेका थिए । गतवर्ष भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।
आयोकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।
करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुर सिमरा उपमहानगरपालिका रहेको छ । त्यसैगरी अन्य सहयोगीको रुपमा क्याल ग्रुप अफ इण्डष्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स्, हुलास स्टिल्स्, क्लासिक इण्डष्ट्रिज, विश्वकर्मा सिमेन्टल, होटल तथा पर्यटन व्यवसायी संघ बारालगायत छन् ।