साविक राप्तीका चार जिल्लाका आठ हजार घरमा टिनको छानो «

साविक राप्तीका चार जिल्लाका आठ हजार घरमा टिनको छानो

दाङ-चालू आर्थिक वर्ष ०७७-७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा खरको छानो हटाएर टिनको छानो लगाइने भएको छ । यसका लागि ४१ करोड २१ लाख ५० हजार रकम खर्च गर्ने थालिएको हो ।
संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउने थालेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । हालसम्म प्युठान, रुकुम पूर्व, रोल्पामा सुरु हुन नसकेको आयोजनाले जनाएको छ । निर्णय भई नसकेकाले काम सुरु हुन नसकेको आयोजना प्रमुख सचिन्द्रकुमार देवले बताए । सम्बन्धित प्रतिनिधिसभाका सांसदको सहभागितामा बस्ने बैठकले निर्णय गरेपछि कार्यान्वयन गरिने व्यवस्था छ । दाङका अधिकांश स्थानमा काम सुरु भइसकेका छन् भने केही वडामा सुरु हुने क्रममा रहेको उनको भनाइ छ । यस प्रकारको कार्यक्रम दाङ र प्युठानमा चालू आवबाट सुरु हुन थालेको छ भने रोल्पा र रुकुम पूर्वमा अघिल्लो आर्थिक वर्षबाट सुरु भएको हो ।
यो कार्यक्रमले सबै जातिका नागरिकलाई समेटने उनको भनाइ छ । “कुनै जातजातिलाई मात्र नभई सम्पूर्ण नागरिकलाई यसले समेटने छ,” प्रमुख देवले भने । खरको छानो भएका नागरिकलाई टिनको छानो लगाउनका लागि रकम सहयोग गरिने उनको भनाइ छ । प्रतिघर ५० हजारका दरले रकम प्रदान गरिने छ । रकम सम्बन्धित व्यक्तिको खातामा पठाइने छ । रकम दुई किस्तामा गरेर वितरण गरिने उनले बताए । पहिलो किस्तामा ६० प्रतिशत रकम प्रदान गरिने छ भने सम्पन्न भएपछि बाँकी रहेको रकम प्रदान गरिने छ । सरकारबाट प्राप्त रकम सम्बन्धित स्थानीय तहमा जाने गर्दछ । यो रकम सम्बन्धित व्यक्तिले स्थानीय तहमार्फत पाउने छन् ।
कसलाई टिन लगाउन रकम दिने भन्नेबारे स्थानीय तहले आ–आफ्नो तहमा सूचना प्रकाशित गर्नेछन् । त्यसपछि आएका निवेदनबाट जिल्लामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको सहभागितामा बस्ने बैठकले कसलाई रकम दिने भनेर निर्णय गर्ने व्यवस्था छ । स्थलगत रूपमा स्थानीय तह तथा संघन सहरी तथा भवन निर्माण आयोजनाको टोलीले स्थलगत रुपमा अध्ययन गरेपछि मात्र रकम प्रदान गरिने आयोजना प्रमुख देवले बताए । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम आव ०७५÷७६ बाट सुरु गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दाङमा ४ हजार ४२ घरमा टिन लगाइने भएको छ । क्षेत्र नं १ अन्तर्गत १ हजार ५ सय ३२ वटा घरमा टिन लगाइने छ । जसमा गढवा गाउँपालिकामा ३ सय ९७, राप्तीमा २ सय ४६, राजपुर गाउँपालिकामा ३ सय २९, लमही नगरपालिकामा ३ सय ४७ र घोराही उपमहानगरपालिका वडा नं १, २, ३ र ५ वडामा गरी २ सय १३ घरमा टिनको छानो लगाइने छ ।
क्षेत्र नं २ अन्तर्गत १ हजार ३ सय ७१ घरमा टिन लगाइने छ । जसमा घोराही उपमहानगपालिका वडा नं ४ देखि १९ वडासम्म गरी ५ सय ७४ घरमा र तुलसीपुर उपमहानगरपालिका १६, १७, १८, १९ वडामा ३ सय ९५ घरमा टिनको छानो लगाइने छ । क्षेत्र नं ३ अन्तर्गत १ हजार १ सय ३९ घरमा टिनको छानो लगाइने छ । जसअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बरका ५ सय १ घरमा टिनको छानो लगाइने छ । दंगीशरण गाउँपालिकामा २ सय ९, शान्तिनगर गाउँपालिकामा १ सय ८८ र बबई गाउँपालिकामा २ सय ४१ घरमा टिनको छानो लगाइने छ ।
यसै गरेर प्युठान जिल्लामा १ हजार ७ सय ६ घरमा टिनको छानो लगाइने छ । जसमा प्युठान नगरपालिकामा २ सय ११, स्वर्गद्धारी नगरपालिकामा २ सय ७३, गौमुखी गाउँपालिकामा १ सय ८६, माण्डवी गाउँपालिकामा १ सय ५५, सरुमारानी गाउँपालिकामा १ सय ८८, मल्लरानी गाउँपालिकामा १ सय ३२, नौ बहिनी गाउँपालिकामा १ सय ७५ झिमरुक गाउँपालिकामा १ सय ८२, ऐरावती गाउँपालिकामा २ सय ४ घरमा टिनको छानो लगाइने छ ।
रोल्पा जिल्लामा १ हजार ८ सय २६ घरमा टिनको छानो लगाइने छ । जसअन्तर्गत रोल्पा नगरपालिका २ सय ५४, त्रिवेणी गाउँपालिका २ सय ५१, परिवर्तन गाउँपालिकामा १ सय ६४, माडी गाउँपालिकामा १ सय ४०, रुन्टीगढी गाउँपालिकामा ३ सय ४४, लुङग्री गाउँपालिकामा १ सय १०, गंगादेवी गाउँपालिकामा गत वर्ष १ सय र यस वर्ष १ सय २४, सुनछहरी गाउँपालिकामा १ सय १, सुनिल स्मृति गाउँपालिकामा गत वर्ष १ सय र यस वर्ष २ सय १७ र थवाङ गाउँपालिकामा १ सय २१ घरमा टिनको छानो लगाइने भएको छ । अघिल्लो वर्ष सुरु भएको कार्यक्रमलाई क्रमागत योजनामा राखिएको छ ।
त्यसैगरी रुकुम पुर्वीमा ६ सय ६९ घरमा टिनको छानो लगाइने छ । जसमा पुथा उतरगंगा गाउँपालिकामा गत वर्षको ५० र यस वर्ष १ सय ८७, भूमे गाउँपालिकामा गत वर्ष ५० र यस वर्ष २ सय २३ र सिस्ने गाउँपालिकामा गत वर्ष ५० र यस वर्ष २ सय ५९ घरमा टिनको छानो लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्