विद्यालय निर्माण गर्न भारतद्वारा ४ करोड २९ लाख सहयोग «

विद्यालय निर्माण गर्न भारतद्वारा ४ करोड २९ लाख सहयोग

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच यही चैत २३ गते सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा यस परियोजनालाई सामुदायिक परियोजनाको रूपमा अघि बढाइने भएको छ । भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा यस्ता परियोजना छन् ।
स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाइ तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवं व्यावसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजना ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत पर्दछन् । यस्ता परियोजनाहरुलाई ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ कार्यक्रमअन्तर्गत लिइन्छ र परियोजना क्षेत्रका जनतालाई लाभ प्रदान गर्न यी परियोजनाको कार्यान्वयन स्थानीय सरकारमार्फत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्