कोरोनाको चिनियाँ खोप आजदेखि लगाइँदै «

कोरोनाको चिनियाँ खोप आजदेखि लगाइँदै


चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिड–१९ विरुद्धको खोप भेरोसेल लगाउने कार्यक्रम आज (बुधबार)बाट सुरु हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइनेछ ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका २२ स्थानमा मात्रै खोप दिइनेछ । स्वाथ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थी तथा हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउनेछन् ।
अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि यो खोप दिइनेछ । तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने महाशाखाले बताएको छ । खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र सहित उपस्थित हुनुपर्नेछ । ७ जिल्लामा २२ खोप केन्द्र तोकिएका छन् ।
वीर अस्पताल, प्रसूति गृह थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, वीरेन्द्र अस्पताल छाउनीमा खोप केन्द्र तोकिएको छ ।
एपीएफ अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी, ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल ठिमी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशूली अस्पताल नुवाकोट, बाह्रबिसे अस्पताल सिन्धुपाल्चोक र जिल्ला अस्पताल रसुवामा पनि खोप लगाउन पाइनेछ ।

खोप अभियान सहज बनाउन निर्देशन
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिले सम्म सरकारले राम्रो काम गरिरहेको भए पनि सबै नागरिकले खोप पाउने सुनिश्चितता गर्नेगरी थप कार्य गर्न निर्देशन दिइन् । कोभिड–१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिश्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोभिडको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
अस्पतालहरुमा दक्ष जनशक्ति व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडि बढ्न पनि समितिले निर्देशन दिएको छ । यस्तै कोभिड र ननकोभिडका बिरामीहरुको उपचार गर्ने विषयमा अहिलेदेखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरु तोक्न पनि भनेको छ । यसबाहेक पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउने तर्फ गम्भिर बन्न समेत सरकारलाई निर्देशन दिएको छ ।
कोभिड लागेका बिरामी र ननकोभिडका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर कार्यान्वयन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरु लागू गर्न र सरकारी निकायहरुबीच आवश्यक समन्वय बढाई व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्