बागमती प्रदेशमा नेपाल समूहको समानान्तर कमिटी
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । मंगलबार उक्त समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको हो । कमिटीमा १७५ जना छन् ।
कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं छन् भने सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबालगायत छन् ।
उक्त समूहले बागमतीका ११ वटै जिल्लामा अध्यक्ष तथा पदाधिकारी तोकेको छ । काठमाडौंको अध्यक्षमा वसन्त मानन्धर, काभ्रेमा टोकबहादुर वाइबा, मकवानपुरमा मुनु सिग्देल, चितवनमा तेजेन्द्र खड्का र धादिङमा शिवराज कँडेल चयन भएका छन् ।
त्यसैगरी सिन्धुलीमा सूर्य पाख्रिन, रसुवामा पेम्बा तामाङ, रामेछापमा शान्ति पौडेल, भक्तपुरमा रजन केसी, सिन्धुपाल्चोकमा झंक नेपाल, हरिकृष्ण थापा र नुवाकोटमा नारायण खतिवडाको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ ।
त्यसैगरी नेपाल समूहले बागमतीका सबै जिल्लामा इन्चार्ज पनि तोकेको छ । काठमाडौंमा सावित्रा भुसाल, रसुवामा माधव अर्याल, सिन्धुलीमा कमलजंग राई, भक्तपुरमा सोमप्रसाद मिश्र, मकवानपुरमा विरोध खतिवडा, चितवनमा कृष्ण खनाल, सिन्धुपाल्चोकमा अरुण नेपाल र रामेछापमा देवशंकर पौडेल इन्चार्ज तोकिएका छन् ।
दुई दिन अघिमात्रै नेपाल खनाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । वसन्त मानन्धरको नेतृत्वमा गठित कमिटीमा २५० जना छन् ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ ।
यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ । संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ ।
समानान्तर कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरे । उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए ।
नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वहरुसँग कुराकानी भइरहेको उनले बताए ।
केपी ओलीले आफूहरुलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको नेता नेपालले बताए । नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको सुनाए ।